गहुँगोरो वर्ण गोलो अनुहार, चौडा निधार, लाम्चिला आँखा, सुलुत्त परेको नाक, मुस्कान भर्न आँतुर ओठ, मिलेको चिउँडो, तीन बीस हिउँद खाएर पनि लरक्क जुल्फी लर्काएर कपाल तलासेर हिँड्ने, सधैँ चुस्तदुरुस्त हृष्टपुष्ट, फुर्तिला, जाँगरिला, अध्यवसायी, इमान्दार एवम् लगनशील व्यक्तित्वका धनी व्यक्ति हुन् ऋषिप्रसाद लामिछाने । उनको पोट्रेट (शब्दचित्र) हो यो । ऐनामा हेरे दुरुस्त यस्तै देखिन्छन् उनी । उनको साहित्यिक नामचाहिँ ‘गोर्खे साइँलो’ हो ।
अदम्य साहस र उत्साहका धनी गोर्खालीहरूको वीरगाथा पढेर हो अथवा राष्ट्रिय चिन्तनले ओतप्रोत भएर पनि होला सायद आफ्नो जन्मक्रमलाई जोडेर उनले आफ्नो पेननेम गोर्खे साइँलो राखेका छन् ।
वि.सं. २००९ साल भाद्र १० गते सोमबार (तद्अनुसार २६ अगस्त, १९५१ इ.सं.) का दिन पश्चिम १ नं. नुवाकोटको साबिक चतुराले गा.वि.स.-४ को थर्पु गाउँमा उनको जन्म भएको हो । उनको मातापिताको नाम स्व. हिमकुमारी र स्व. बोधनाथ लामिछाने हो । चार पुत्ररत्न र दइ पुत्रीरत्न गरी छ सन्ततिका धनी गोर्खे साइँलोकी जीवनसङ्गिनीको नाम मीनमाया लामिछाने हो । उनी २०२६ सालमा नुवाकोटबाट चितवन बसाइँ सरी आएका हुन् । हाल उनको बसोवास भरतपुर नगरपालिका-४, विशालमार्ग, नारायणगढमा रहेको छ । पेसाले उनी एक विद्युत समाग्री व्यवसायी हुन् । हाल उनी उक्त व्यवसायको काम छोराबुहारीलाई सुम्पेर आफू सेवा निवृत्त भए झैँ गरी विशुद्ध सामाजिक एवम् साहित्यिक क्रियाकलापमा सक्रियतापूर्वक जुटेका छन् । साहित्य क्षेत्रमा उनको सक्रियता स्तुत्य एवम् सराहनीय रहिआएको छ ।
शान्ति शिक्षा मन्दिर साउनेपाटी काठमाडौँमा अध्ययनरत रहँदा २०२२ सालमा त्यहाँ भएको कविता प्रतियोगितामा उनले लेखेको ‘विद्यार्थीको दुःख’ शिर्षकको कविताले प्रथम स्थान प्राप्त गरी पुरस्कृत भएपछि त्यसबाट प्रोत्साहित भएर लेखनकार्यमा प्रवेश गरेको कुरा बताउँछन् उनी । उनले कविता, गजल, हाइकु, कथा, निबन्ध र समीक्षाजस्ता विविध विधामा कलम चलाउने गरे तापनि गजल र गजलसिद्धान्तमा नै उनको सिर्जनात्मक उपलब्धी रहिआएको छ । उनी राष्ट्रियस्तरमा नै गजलकार एवम् कविको रूपमा स्थापित भइसकेका छन् । नेपाली साहित्यको उन्नयन र विकासका लागि आफ्नो दक्षता र क्षमताले भ्याएसम्म दत्तचित्त भई जुटेका छन्, जसका लागि ‘पल्लव साहित्य प्रतिष्ठान’ को स्थापना गरी आफ्नै घरमा नै बोर्डसमेत टाँगेर बसेका छन् । उक्त संस्थाको संस्थापक अध्यक्ष तथा संरक्षक उनी आफै हुन् । उनकै सम्पादकत्वमा ‘पल्लव साहित्यिक पत्रिका’ प्रकाशन हुने गरेको छ । उक्त पत्रिकामा पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्मका राष्ट्रियस्तरमा ख्यातीराप्त स्थापित तथा भर्खरै सिर्जनकार्यमा लागेका नौसिखिया अर्थात् भनौँ कलिला मुनाहरूलाई समेत स्थान दिएर तिनीहरूका लेख-रचनाहरू छपाएर प्रोत्साहन दिनुका साथै तिनीहरूलाई मञ्च प्रदान गरेर पत्रिकाको नाम सार्थक तुल्याउने काम गरेका छन् । यतिमात्र नभएर नेपाल बाहिर विभिन्न मुलुकहरूमा छरिएर रहेका स्रष्टाहरूको समेत लेख-रचनाहरूलाई ‘पल्लव साहित्यिक पत्रिका’ ले स्थान दिने गरिआएको छ । हालसम्म उक्त पत्रिकाको १७ औँ अङ्क प्रकाशित भइसकेको छ । पहिलो अङ्कदेखि हालसम्म आइपुग्दा पत्रिकाले विभिन्न आरोह-अवरोह पार गरी निरन्तरता प्राप्त गर्नुका साथै सिर्जनात्मक गुणवत्ताको शिखरारोहण गर्दैआएको कुरा नकार्न सकिँदैन ।
पल्लव साहित्यिक पत्रिकाको विभिन्न अङ्कहरू विषयगत विविधतायुक्त रहिआएका छन् । हालसम्म पत्रसाहित्य विशेषाङ्क, कथा विशेषाङ्क, छन्दोबद्ध कविता विशेषाङ्क, गजल विशेषाङ्क, समालोचना विशेषाङ्क, यौन विशेषाङ्क र नारी विशेषाङ्कहरू प्रकाशित भइसकेका छन् । ‘पल्लव साहित्य प्रतिष्ठान’ बाट प्रकाशित हुने ‘पल्लव साहित्यिक पत्रिका’ प्रतिष्ठानको मुखपत्रको रूपमा रहिआएको छ । यसैगरी भौगोलिकताका कारण दूर्गम र अन्तराष्ट्रिय जगतमा बसेर नेपाली साहित्यको नशापान गर्न चाहानेहरूका लागि ३ बर्षेखि लगातार पल्लव साहित्यिकर् इ-पत्रिका (www.pallawa.com.np) नामक आकाशे पत्रिका वेवसाइट सञ्चालन गरेर संसारभरीका नेपाली साहित्य प्यासीहरूको प्यास मटाउने जस्तो गहकिलो काम समेत गर्न पछि पेरका छैनन् । यसैलार्इ मध्य नजर गर्दै अन्तराष्ट्रिय बाल साहित्य समारोहको शुभ अवसर पारेर भारतको उत्तराञ्चल स्थित खटिमा भन्ने ठाउँमा उनलार्इ ‘सम्पादकीय शिरोमणि पुरस्कार र सम्मान’ प्रदान गरिएको थियो ।
गोर्खे साइँलोका एकल तथा सहलेखन गरी हालसम्म निम्न आठवटा कृतिहरू प्रकाशित छन् ः
(१) गजलपथका यात्रीहरू (गजलसङ्ग्रह, २०६१, सहलेखन)
(२) गजलबिम्ब (गजलसङ्ग्रह, २०६२, सहलेखन)
(३) गजलयात्रा (गजलसङ्ग्रह, २०६३, सहलेखन)
(४) समयका स्वरहरू (कवितासङ्ग्रह, २०६५, सहलेखन)
(५) सम्मोहन (गजलसङ्ग्रह, २०६२)
(६) मुस्कान (सूत्रसहित शास्त्रीय बहरमा आधारित गजलसङ्ग्रह, २०६२)
(७) कादम्बरी (सूत्रसहित शास्त्रीय छन्दमा आधारित कवितासङ्ग्रह, २०६३)
(८) सूत्रमाला (सूत्रसहित शास्त्रीय बहरमा आधारित गजलसङ्ग्रह, २०६३)
उपरोक्त कृतिहरूको अतिरिक्त राष्ट्रिय तथा स्थानीय स्तरका विभिन्न साहित्यिक पत्रपत्रिका एवम् स्मारिका र बुलेटिनहरूमा समेत यिनका कविता, कथा, निबन्ध, गजल, संस्मरण एवम् समीक्षात्मक लेख र टिप्पणीहरू प्रकाशित भइसकेका छन् । विभिन्न इन्टरनेट वेभसाइटहरूमा पनि खोजमूलक लेख-रचनाहरू प्रकाशित छन् ।
उनका केही कृतिहरू प्रकाशनको ढोका घच्घच्याउने तयारीमा छन् जसमध्ये गजलसिद्धान्त र सूत्र शैलीमा आधारित ‘गजल दर्शन’ नामक खोज-अनुसन्धान मुलक पुस्तक प्रेसमा प्रकाशनको तयारीमा छ, भने मेरी नारायणी -कथासङ्ग्रह) र बाग्मतीका छालहरू -निबन्धसङ्ग्रह) क्युमा रहेका छन् ।
विगत साँढे तीन दशकदेखि साहित्य सिर्जनामा साधनारत गोर्खे साइँलोले साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् । सम्भवतः उनको ‘मुस्कान’ गजलसङ्ग्रह नेपाली गजल साहित्यमा लेखिएको सूत्रसहितको नियममा आधारित मोतीराम भट्ट र मोती मण्डली भन्दा पछाडिको पहिलो बहरबद्ध गजलसङ्ग्रहको रूपमा नै दर्ज भइसकेको छ । यस्तै उनको ‘कादम्बरी’ कवितासङ्ग्रह पनि सूत्रसहितको शास्त्रीय छन्दमा आधारित कवितासङ्ग्रह हो । उनका सूत्रसहितका छन्दोबद्ध कविता र बहरबद्ध गजलसङ्ग्रहहरू सङ्ग्रहणीय एवम् पठनीय यस अर्थमा पनि छन् कि छन्द तथा बहरमा कविता र गजल लेख्न अभ्यास गर्ने र्सजक तथा पाठकहरूका निम्ति यी कृतिहरूले जन्त्रीको काम गरेका छन् ।
यो मुलुकमा साहित्यप्रति असीम आस्था र लगाव भएका धेरै महारथिहरू छन् तथापि गोर्खे साइँलोको जत्तिको र्समर्पणभाव विरलैको होला । साहित्य भनेपछि हुरुक्क भई मरिमेटेर लागिपर्ने गोर्खे साइँलोको र उहाँका दाजु नाता पर्ने टीकाप्रसाद लामिछाने निजी खर्चमा एउटासमेत ‘पल्लव साहित्य प्रतिष्ठान’ ले वर्षोनी वितरण गर्ने गरी पाँचवटा पुरस्कारको स्थापना गरेका छन् । जो निम्नप्रकार छन् ः
(१) दुल्लभ स्मृति पुरस्कार
(२) भाष्कर लामिछाने लोकसंस्कृति पुरस्कार
(३) शेषनाथ लामिछाने स्मृति पुरस्कार
(४) बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार
उपरोक्त पुरस्कारहरूको अतिरिक्त उनले वर्षोनी पल्लव साहित्य सम्मानको नाममा स्रष्टाहरूलाई सम्मानित गर्ने पनि गर्दछन् । जुन सम्मानबाट यो अकिञ्चन याने कि यो पङ्क्तिकारले पनि २०६१ सालमा नै सम्मानित हुने अवसर पाइसकेको छ । जसको लागि यो पङ्क्तिकार ‘पल्लव साहित्य प्रतिष्ठान’ परिवार प्रति हार्दिक-हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
कवि तथा गजलकार गोर्खे साइँलोले वर्षोनी आफ्नो जन्मदिनको शुभ अवसर भाद्र १० गते पारेर चितवनमा एउटा साहित्यिक कुम्भमेलाकै आयोजना गर्ने गर्दछन् । जुन दिन उनले स्थानीय तथा छिमेकी जिल्लासमेतका स्रष्टाहरूलाई निम्त्याएर निजी खर्चमा भव्य समारोहका बीच हर्षोल्लासपूर्ण वातावरणमा पूर्व मेचीदेखि पश्चिम महाकाली र पहाडदेखि तराईसम्मका राष्ट्रियस्तरका स्रष्टादेखि लिएर मोफसलमा रहेर साहित्यको श्रीवृद्धि र समुन्नतिमा जुटेका तर राष्ट्रबाट उपेक्षित भइरहेको महसुस गरिरहेका स्रष्टाहरूलाई समेत खोजी-खोजी पुरसकृत तथा सम्मानित गर्ने गर्दछन् । यसरी पुरस्कृत तथा सम्मान गर्दा उनले रु. ५०५१।- रकमसहितको दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरी फूलमाला एवम् अबिर पहिर्याएर हार्दिकताका साथ सम्मान गर्ने गर्दछन् । यस किसिमको सम्मान कार्यले सर्जकहरूको मनोबल उच्चा हुनुका साथै थप सिर्जनकार्यको लागि प्रोत्साहन तथा ऊर्जा मिलेको छ भन्दा अत्युक्ति नहोला ।
साहित्यको समुन्नति र श्रीवृद्धिमा तदारुकताका साथ निरन्तर लागिरहेकै कारण निम्न सम्मान तथा पुरस्कार उनको पोल्टामा परिसकेको छ ः
(१) मितज्यू स्रष्टा सम्मान – २०६३ -मितज्यू साहित्य प्रतिष्ठान, चितवन)
(२) धारा साहित्यिक अभिनन्दन-पत्र – २०६४ -धारा मासिक साहित्यिक पत्रिका, पिठौली)
(३) मध्यक्षितिज साहित्य सम्मान – २०६३ -मध्यक्षितिज वाङ्मय प्रतिष्ठान, चितवन)
(४) हाम्रो मझेरी साहित्य सम्मान – २०६५ -हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन)
(५) महामण्डल साहित्य सम्मान – २०६६ -नुवाकोट साहित्य प्रतिष्ठान, नुवाकोट)
(६) नुवाकोट साहित्य सम्मान – २०६६ -दोस्रो नुवाकोट महोत्सव, विदुर, नुवाकोट)
(७) लक्ष्मी स्मृति साहित्य अभिनन्दन-पत्र – २०६४ -लक्ष्मी स्मृति साहित्य समाज, पिठौली, कावासोटी, नवलपरासी)
(८) युगान्तर वर्षपुरस्कार तथा साहित्य सम्मान – २०६९ -युगान्तर साहित्यिक पत्रिका, नुवाकोट) ।
अधिराज्यभरिका विभिन्न साहित्यिक सङ्घसंस्थाहरूसँग उनको संलग्नता तथा आबद्धता रहिआएको छ । पङ्क्तिकारलाई ज्ञात भएसम्म -प्राप्त जानकारीअनुसार) उनी आबद्ध भएका सङ्घसंस्थाहरूको सूची निम्नबमोजिम रहेको छ । यो विवरणबाट नै उनको साहित्यिक सक्रियताको आँकलन गर्न सकिन्छ ।
(१) केन्द्रीय पार्ष्, विश्व साहित्य महासङ्घ
(२) प्रमुख सञ्चालक, पल्लव साहित्यिकर् इ-पत्रिका (www.pallaw.com.np)
(३) संस्थापक अध्यक्ष, पल्लव साहित्य प्रतिष्ठान, नारायणगढ, चितवन
(४) अध्यक्ष, गजल मञ्च चितवन -२०६५-२०६८)
(५) संस्थापक उपाध्यक्ष, छन्द बचाऊ अभियान, चितवन-नवलपरासी शाखा
(६) कार्य समिति सदस्य, अभिव्यञ्जना साहित्य प्रतिष्ठान, चितवन -२०६५-२०६८)
(७) कार्य समिति सदस्य, चितवन साहित्य प्रतिष्ठान, भरतपुर, चितवन -२०६६-२०६८)
(८) कार्य समिति सदस्य, साहित्यिक पत्रकार सङ्घ, चितवन -२०६६-२०६८)
(९) सल्लाहकार, नुवाकोट साहित्य परिषद्, बट्टार, नुवाकोट
(१०) सल्लाहकार, कोसिस साहित्यिक मासिक, चितवन
(११) सल्लाहकार, धरा मासिक साहित्यिक पत्रिका, नवलपरासी
(१२) सल्लाहकार, गाउँले अर्धवाषिर्क साहित्यिक विविध, चितवन
(१३) सल्लाहकार, नारी साहित्यिक मञ्च, नवलपरासी
(१४) सल्लाहकार, माधुरी साहित्य प्रतिष्ठान, कुश्मा, पर्वत
(१५) सल्लाहकार, कैलाश साहित्यिक द्वैमासिक
आजीवन सदस्यता रहेका साहित्यिक संस्थाहरू ः
(१) वाणी प्रकाशन सहकारी संस्था लि., विराटनगर
(२) चितवन साहित्य परिषद्, भरतपुर, चितवन
(३) रामेश्वर पुस्तकालय तथा वाचनालय, क्षेत्रपुर, चितवन
(४)र् पर्वत साहित्य सङ्गम, कुश्मा, पर्वत
(५) माधुरी साहित्य प्रतिष्ठान, कुश्मा, पर्वत
(६) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल
(७) अभिव्यञ्जना साहित्य प्रतिष्ठान, चितवन
(८) नुवाकोट साहित्य प्रतिष्ठान, विदुर, नुवाकोट
(९) जनमत साहित्य मासिक, काभ्रे
(१०) नेपाल स्रष्टा समाज, काठमाडौँ
(११) स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जा
(१२) मातृभूमि साहित्य प्रतिष्ठान, मकवानपुर
(१३) शहीद दशरथचन्द स्मृति प्रतिष्ठान, सुन्दरखाली-बास्कोट), वैतडी ।
(१४) दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, दाङ
(१५) नेपाल रेडक्रस सोसाइटी, चितवन
(१६) नेपाल क्षयरोग निवारण संस्था, चितवन
(१७) नेपाल अर्बुद्धरोग निवारण संस्था चितवन शाखा,
(१८) नेपाल हृदयरोग निवारण संस्था, भरतपुर
(१९) नेपाल परिवार नियोजन सङ्घ, भरतपुर
अन्त्यमा कवि, गजलकार एवम् पल्लव साहित्यिक पत्रिकाका प्रधान सम्पादक तथा व्यवस्थापक ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ ले मोफसलमा रहेर नेपाली वाङ्मयको विकासमा पुर्याएको योगदानको मूल्याङ्कन हुनु जरुरी छ । खासगरी नेपाली गजलसाहित्यमा उनले पुर्याएको योगदानलाई कम आँकलन गर्न मिल्दैन । गजलमा कलम चलाउन चाहने नयाँ पिँढीका र्सजक तथा गजल अनुरागीहरूमाझ उनी गजलसिद्धान्त र सूत्रका गुरु बन्ने हैसियत राख्दछन् भन्दा अतिशयोक्ति नठहर्ला । परिष्कारको कुनै सीमा हुँदैन । कसको सिर्जना कति परिष्कृत भन्ने मात्र हो । हरेक व्यक्तिका आ-आफ्ना सीमाहरू हुन्छन्, यो मानेमा उनी अझ खग्रपङ्तिमा देखिन्छन् । तर्सथ गोर्खे साइँलो सीमारहित हुन सक्ने कुरै भएन । आगामी दिनहरूमा साइँलो दाइ अझै परिष्कारको कसिमा अरू माझिएर आउन सकून् । परिष्कृत र अझै गहकिला कृति दिएर नेपाली वाङ्मयको भण्डार भरून् । यही शुभाशंसासहित अहिलेलाई कलम बन्द गर्ने अनुमति माग्छु । धन्यवाद !
खनाल रेवतीरमण
भरतपुर, चितवन ।
नोटः (यो रचना पल्लव साहित्यिक पत्रिका–१८, औँ अङ्कको पेज नं ११९ बाट साभार गरिएको हो र पात्रको पछिल्लो केही प्रगति थप संसोधन गरिएको छ। कुनै पनि स्रष्टाले निकै परिश्रमपूर्वक लेखिएको लेख–रचनाले बल्लबल्ल पत्रिकामा छापिने अवसर पाउँछन् । लेख–रचनाहरू पत्रिकामा त छापिन्छन् तर ती पत्रिकाहरू पाठकहरू समक्ष पुग्छन् नै भन्न सकिँदैन । कतिपय पत्रिकाहरू प्रकाशक/पुस्तक पसल/गोदाम र दराजमै थन्किएर बसेका हुन्छन् भने कतिपय पत्रिकाहरू विविध कारणले पाठकको मुखै देख्न नपाई बीचैमा तुहिएर बसेका पनि हुनसक्छन् । यी र यस्तै विविध कारणहरूलाई मध्यनजर राख्दै देश–विदेशमा रहनु–बस्नुभएका सम्पूर्ण नेपालीहरूले ती पत्रिकाहरूमा छापिएका लेख अथवा रचना पढ्न पाऊन् भन्ने पवित्र उद्देश्य राखी साभार गर्ने धृष्टता गरिएको हो, यस कार्यलाई सकारात्मक रूपमा लिइदिनु हुनेछ भन्ने पूर्ण विश्वास हामीलाई लागेको छ । पल्लव साहित्य परिवार, चितवन ।

If you don’t take it otherwise ………मुद्राराक्षस धेरै देखिन्छ ।प्रुफरिडिड़ कत्ति पनि नगरिएको जस्तो लाग्यो । कि भने टाइपिस्ट सिखारू हुनु पर्छ ।के भएको हो ? गोर्खे साहिलोजी ! यस्तो त नहुनु पर्ने हैन र भन्या ? कतिपय ठाउँमा वाक्य नै तोड़मोड गरिएको जस्तो लाग्यो ।लेखकको अनुमति बिना यसो गर्न मिल्छ ? कृपया झिंजो नमानिकन जवाफ दिनुभए आभारी हुने थिएँ ।धन्यबाद ।
यो तोडमोड भएको हैन नेपाली फन्टबाट युनीकोड फन्टमा कन्भट गर्दा कही कतै केही अक्षरहरू हेरफेर भएको हुन सक्छ अरू केही छैन खनाल सर । जिज्ञासाका लागि धन्यवाद ।