सि यु, बाई

Durga, Banwasi, Shiwakoti, दुर्गा ‘वनवासी’,  pallawa  , पल्लव

दुर्गा ‘वनवासी’

असाध्यै झगडा गथ्र्यौँ हामी । झगडामै त माया फुल्दो रहेछ । हाम्रो रमाइलो, ठट्टायुक्त प्रिय झगडा अफिसमा कतिका लागि मनोरन्जनको बिषय हुन्थ्यो, कतिलाई ईष्र्याको । म जे भन्थें, ठीक उल्टो गनु पर्ने उसले तर त्यो वादविवादले कहिल्यै नकारात्मक रुप लिएन, सम्बन्धमा चिसोपन कहिल्यै ल्याएन बरु त्यही झगडा र घुर्कीसँगै फलिरह्यो, फुलिरह्यो हाम्रो मित्रता । मानवीय कमजोरी त भइहाल्छन् तर कुनै दिन विवादले गम्भीर रुप लिन लागे हामी सम्झौतामा फर्किहाल्थ्यौँ । विशेष म नै हात बढाउँथै. पहिला । मलाई झुकाउनुमा मज्जा थियो उसलाई र मलाई झुकिदिनुमा ।

 

यही सुझबुझ र विनम्रताको नतीजा नै थियो हाम्रो विशुद्ध घनिष्ठता । कसै कसैले जिस्काउँथे –‘कस्तो लोग्ने स्वास्नी जस्तो लडेका ?’ आश्चर्य लाग्थ्यो – आत्मीयता र प्रेमभाव लोग्ने स्वास्नीको पेवा हो ? झगडा गर्ने र मिल्ने अधिकार पति पत्नीलाई मात्रै छ ? जे होस्, यी सबको पर्वाह नगरी बढेको हाम्रो अतुल्य मित्रतामा हामी दुबै एक अर्काको निम्ति अनिवार्य र अपरिहार्य जस्तै भएका थियौँ ।
अफिसबाट छुट्टिने बेलामा म उसलाई सि यु भन्थें, ऊ बाई भन्थी । म सि यु भन्न कर गर्थें, ऊ फेरि पनि बाई नै भन्थी । कहिलेकाहीँ मोुबाइलमा र फेसबुकमा मेसेज लेख्दा पनि उसले बाई लेखेर मलाई जित्नु पर्ने, म सि यु मै अडिग रहने ।
एक दिन अफिस पुग्ने बेलामा झुरुप्प भीड देखेर दगुर्दै जाँदा त रगतपच्छे ऊ पो ढलिरहेकी । निर्दयी बसले ठक्कर दिएर भागेछ, उसको स्कुटरलाई । हतार हतार एम्बुलेन्समा हालेर अस्पतालतिर दौडाएँ । अफिस टाइमको जाम, एम्बुलेन्सले पनि सहजै कहाँ बाटो पाउँथ्यो र ? बेलाबेलै बेहोश हुन लागेकी उसलाई झँगाल्दै थिएँ म आफैँ रुँदै र अत्तालिँदै । अस्पतालको गेटनेर पुग्दासम्म उसको हालत झन खराब भो । पुलुक्क मतिर हेरेर दायाँ हात उठाई–बाई भन्न खोजे झैँ गरेर । मैले च्याप्प समाएँ त्यो हात । धमिलिएका आँखा तपतप झरे त्यही हातमाथि । उसका परेली थर्थराउँदै बन्द भए, हात लत्रियो । सडक थर्काएर म चिच्याएँ अनि घोप्टिएँ उसकै शरीरमाथि ।
होश खुल्दा म आफन्त र साथीभाइको घेरामा थिएँ अस्पतालको बेडमा । डाँको छोडेर रोएँ धेरै बेर । कतिले सम्झाए, कतिले रुन दिए, कोही आफै रुँदै थिए । केही बेरपछि स्ट्रेचरमा सेतो कपडाले ढाकिएको उसको निर्जीव शरीर निकालियो । अर्ध विक्षिप्त मैले दगुरेर कपडा उघारें अनि छाँद हालें । केही साथीभाइ र आफन्तले तानेर नियन्त्रणमा लिए मलाई, कोही स्ट्रेचरसँगै बाहिरिए । निर्निमेष त्यो स्ट्रेचर हेरिरहें मैले ओझेल नपरुन्जेल धमिला आँखाहरुले । अनायासै दाहिने हात उठ्यो मेरो र मलिन शब्दहरु फुत्किए ओठबाट अश्रु बर्षासँगै–गुड बाई माइ डियर, गुड बाई फरेभ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.