“नेताहरुकोलागी थप अंग रक्षक खटाउने भयो रे |”
अम्बरले खबर सुनायो बलबिरेलाई |
“कुन खतराबाट बचाउँन ?” बलबीरले प्रश्न तेर्स्यायो |
“कुन खतराबाट हुनु र? जनताबाट नै हो नि |” अम्बरेले निरश बन्दै जवाफ दियो |
“अनि जनताकै हकहितकालागी उनीहरु बहस गर्दैछन् र, जनताको अधिकारकोलागी चर्चाचर्की भएको हो भने किन जनतासंगै डर त ?” फेरि बलबिरेले प्रश्न थप्यो |
अम्बरेले ब्यंगात्मक मुस्कान छर्दै भन्यो |
-“हो यहि त हामी जनताको कमजोरी हो नि | जबसम्म हाम्रो दिब्यचक्षु र दुरदर्शिताको प्रयोग हुन्न हामी आफै नेताको रक्षक र नेतालाई माथी चढ्ने भर्यांग बनिरहंन्छौँ |आखिर नेतालाईपनि डर त जनताकै हो नी |उनीहरु आफै गोली हानाहान र लट्ठी चार्ज गर्दैनन् क्यारे |यी सब गर्ने त जनता नै हुन् र जनताकै छोरा प्रहरीहरु हुन् |
अम्बरेको कुरालाई सही थप्दै बलबिरेले भन्यो |
-नेताहरु भनेका दिनभर संसद भवनमा टेबल ठोकाठोक गर्ने हुन् |सांझमा उनीहरु नै रेष्टुरेन्टको टेबलमा रेड लेबल खोल्ने हुन् | हामी जनता भने एकछिन टेलिभिजनको पर्दामा हेरेर आ-आफ्नो पार्टीका नेतालाई स्याबास भन्ने मात्र हौँ |”
-“त्यसो भए अब पक्का भएजस्तो छ |संबिधान लेखिनेवाला छैन माघ ८ गतेपनि |अब संबिधान लेखिनेतिर भन्दा नेतालाई आफ्नो ज्यानको खतरा महशुस हुन थाल्यो र त अंग-रक्षक थपको आव्हान भो त !”अम्बरेलेपनि आफ्नो जिज्ञासा राख्यो |
अन्त्यमा ती दुवैले आफ्नो निर्क्यौलमा एकै आवाज बोले |
-“देशका युवा नै नेताको सुरक्षाकर्मी र आ-आफ्नो दुश्मन हुने भयौं |आखिर नेताका छोराहरु न देशभित्र नै छन् |सबै विदेशमा उच्च शिक्षा लिन गएका छन् |लौ ! अम्बरे,बलबिरे अब फेरि तिमीहरुलाई नै स्वार्थिहरुले जुधाउने भए |प्रहरी र आन्दोलनकारीको मखुण्डो भिराएर |अब खोल दिब्यचक्षु अनि प्रयोग गर, दुरदर्शिता जस्ले तिमीहरुलाई एकार्काको बैमनष्यता र शत्रुत्वको दागबाट बचाओस्|”
त्यस्पस्चात ती दुवै एकार्काको अंगालोमा बाँधिएर प्रेरणाको धाप मार्दै अघि लागे |
रचना – जनवरी/ १९/ १५
लघुकथा कुनो बाट साभार ।
