गजल लेख्दा बहरमा नै लेख्न पर्छ भन्ने विषयमा विज्ञहरूको भनार्इ यसप्रकार रहेको पाइन्छ । नेपालमा गजलको सुरुआतमा मोतीराम भट्टले केही गजल लेखेका छन्, जुन गजललाई शिक्षा परिषद् काठमाडौँले मोतीराम भट्टका गजल (२०३८) नामबाट प्रकाशन भएको पाइन्छ । मोतीका ती गजलहरू सबै बहर (छन्द) मा नै लेखेको पाइन्छ । त्यसपछिको गजल सुषुप्तकालदेखि पुनर्जागरण काल हुँदै हालसम्मको अवस्थामा आइपुग्दा नेपालका गजल धरोहर, गजल गो, गजल ज्ञाता, गजलमै विद्यावारिधी गरी हजारौँ गजलसम्मोहीहरूलाई गजल ज्ञान छर्दै आउनुभएका अग्रजहरूले बहरका बारेमा कुन समयमा कहाँ–कहाँ, के–के लेख्नु भएको छ ! त्यसको हल्का सार सङ्क्षेपमा केही पेस गर्ने अनुमति चाहन्छु । उप–प्रा. रामप्रसाद ज्ञवालीले घनश्याम न्यौपाने ‘परिश्रमी’ को जून चुहेको रात गजलसङ्ग्रहको बल्लबल्ल साइकल चलाउन सिक्दै छु, गाडी कसरी हाँकूँ (शीर्षक रहेको भूमिकामा यसरी लेखेका छन्: ‘गजलकार बन्न चाहने व्यक्तिसँग काफिया, रदिफ, मतला, शेर, मिसरा, तखल्लुस, मकता, मिसरा–ए–उला, मिसरा–ए–सानी, बहर आदि गजलका मौलिक पक्षहरूको ज्ञान र लेखनको अभ्यास हुनुपर्छ ।’ – रामप्रसाद ज्ञवाली, बल्लबल्ल साइकल चलाउन सिक्दै छु, गाडी कसरी हाँकूँ –घनश्याम न्यौपाने ‘परिश्रमी’, जून चुहेको रात, काठमाडौँ: भुँडीपुराण प्रकाशन, २०६०, पृ. ख) वरिष्ठ कवि एवम गजलकार गोविन्दराज विनोदीले शीतल कादम्बिनीको सुगन्ध –यात्रा गजलसङ्ग्रहको ‘सुगन्ध–यात्रा’ माथि दृष्टि प्रक्षेपण शरीर्षकीय भूमिकामा यसरी प्रस्तुतु हुनुभएको छ: ‘गजलमा छन्द वा बहरहरूको प्रयोग अपेक्षित छ । गजल छन्द वा बहरमै लेख्नुपर्ने शास्त्रीय नियम भएको र यो गुरु–शिष्य परम्परामा अडेको देखिन्छ ।’ – गोविन्दराज विनोदी, ‘सुगन्ध–यात्रा’ माथि दृष्टि प्रक्षेपण, शीतल कादम्बिनी, सुगन्ध–यात्रा, चितवन: चितवन साहित्य परिषद्, २०६२, पृ. ज) देवी नेपालले सुरेश सुवेदीद्वारा सम्पादित बहरमाला संयुक्त गजलसङ्ग्रहको गजलमा बहरको प्रयोग र परम्परा नामक भूमिकामा लेख्नु भएअनुसार ‘गजलमा प्रयोग हुने शास्त्रीय लयलाई ‘बहर’ भनिन्छ । संस्कृत काव्य परम्परामा ‘छन्द’ भनेजस्तै फारसी गजल परम्परामा ‘बहर’ शब्दले लयव्यवस्थाभित्रको अनुशासित रूपलाई सङ्केत गरेको हुन्छ । लय, छन्द वा बहर सबैले रचनाभित्रको सङ्गीतचेतनालाई सङ्केत गर्दछ ।’ – देवी नेपाल, गजलमा बहरको प्रयोग र परम्परा, सुरेश सुवेदी (सम्पा.), बहरमाला, काठमाडौँ: अनाममण्डली, मोती जयन्ती २०६३, पृ. ९) बूँद रानाले सुरेश सुवेदीद्वारा सम्पादित बहरमाला संयुक्त गजलसङ्ग्रहको शुभकामनामा बहरबारे यसरी लेख्नु भएको छ: ‘बहर गजलको जग हो । जुनसुकै गजल पनि बहरकै भरमा उभिएको हुन्छ । यसरी बहरको जगमा (गजलरूपी) भवन उभ्याइसकेपछि त्यसको शृङ्गारपटार आवश्यक पर्छ । त्यो गजलकारको खुसीमा भर पर्ने कुरा हो ।’ – बूँद राना, शुभकामना, सुरेश सुवेदी (सम्पा.), बहरमाला, काठमाडौँ: अनाममण्डली, मोती जयन्ती २०६३, पृ. ७) गजलकार गोविन्दराज विनोदीले सुशील गौतमद्वारा लिखित गजल रापती गजलसङ्ग्रहको ‘गजल रापती’ मा भावाभिषेक भूमिकामा यसरी लेख्नुभएको छ: ‘गजल शास्त्रीय बहर (छन्द) मा लेखिने गेयात्मक काव्य विधा हो । यसको आफ्नै संरचनागत नियम छ । गुरु(शिष्यपरम्परामा विकसित गजलमा इबारत, इशारत र अदा (शैलीशिल्प, प्रतीक योजना र भाव घनत्वपूर्ण प्रस्तुति) हुनुपर्ने कुरा उर्दू साहित्यका महाकवि गालिबले सङ्केत गरेका छन् ।’ – गोविन्दराज विनोदी, ‘गजल रापती’ मा भावाभिषेक, सुशील गौतम, गजल रापती, दाङ: लेखक सङ्घ, २०६४, भूमिका पृष्ठ) वरिष्ठ गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ ले मेघनाथ खनाल ‘बन्धु’ द्वारा सिर्जित गजल यात्रा गजलसङ्ग्रहको गजल यात्रा: बहर अनुशासनमा आबद्ध गजलसङ्ग्रह शीर्षकको भूमिकामा यसरी लेख्नु भएको छ: ‘गजल शास्त्रीय विधा हो । गजललाई अझ बढी गम्भीर र बौद्धिक विधाको रूपमा प्रतिष्ठित गराउने गजलको अति आवश्यक तत्त्व बहर अर्थात् छन्द पनि हो । गजलमा गेयता र लयबद्धता अनिवार्य मानिएको छ । लयबद्ध हुनका लागि गजल कुनै न कुनै छन्दमा बाँधिनु अनिवार्य मानिन्छ ।’ – श्रेष्ठ प्रिया ‘पत्थर’, गजल यात्रा: बहर अनुशासनमा आबद्ध गजलसङ्ग्रह, मेघनाथ खनाल ‘बन्धु’, गजल यात्रा, कैलाली: सु.प. गजलमञ्च, धनगढी, २०६४, पृ. ख) ललिजन रावलले प्रतिनिधि नेपाली गजलहरू नामक संयुक्त गजलसङ्ग्रहको गजल: इतिहास र संरचना नामक सम्पादकीय भूमिकामा यसरी लेखेका छन्: ‘गजल मूलत: गाइने विधा भएकोले सङ्गीतसँग यसको गहिरो सम्बन्ध रहिआएको छ । गजलको पहिलो पङ्क्तिमा जुन लय, मात्रा, मिटर वा यति(गतिको व्यवस्था हुन्छ, त्यो प्रत्येक शेरका प्रत्येक पङ्क्तिमा समान हुनुपर्दछ । यसैकारण खासगरी फारसी र उर्दूमा गजल बहरबद्ध (छन्दोबद्ध) रूपमा लेखिन्छ । अनेकौँ बहर (छन्द) छन् गजल रचनाका लागि त्यहाँ । बहरले आफैँ लय बोक्ने भएकाले बहरमा गजल लेख्नु आफैँमा उत्तम कुरा हो ।’ – ललिजन रावल (सम्पा.), प्रतिनिधि नेपाली गजलहरू, काठमाडौँ: विवेक सिर्जनशील प्रकाशन प्रा.लि., २०६५, पृ. ९) सनतकुमार वस्तीले आफ्नो कृति वाह ! गजल (गजलको किताब) मा बह्रका बारेमा वर्णनगरे अनुसार ‘बह्र वा छन्द गजलको अविभाज्य अङ्ग हो । भनौँ ‘गजल’ शब्दको अन्तिम अक्षर ‘ल’ हो ‘ल’ बिना गजल शब्द नै बन्दैन । ‘ल’ माने लय । लयको लालित्य नभै गजल बन्दैन । यसै लयालुपनलाई मर्ूत बनाउने तत्त्व हो बह्र वा छन्द ।’ … ‘बह्र’ को अर्को अर्थ हो ( सागर, समुद्र । वास्तवमा बह्र छ पनि समुद्रैजस्तो विराट् र र्सवत्र व्याप्त अनि गहिरो । यस अद्भुत सृष्टिविस्तारमा र्सवत्र बह्र छ, छन्द छ । वस्तुत: जिन्दगीमा गति छ र गतिमा बह्र । त्यसैले गजलमा पनि बह्र छ ।’ – सनतकुमार वस्ती, वाह ! गजल (गजलको किताब), काठमाडौँ: कोकगोष्ठी, कमलपोखरी, २०६७, पृ. ११५) डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ ले आफ्नो गजल भूमिकावली नामक पुस्तकमा ‘गजलको पहिलो सर्त भनेको गायन हो । गायनका लागि गेयता अपरिहार्य गुण मानिन्छ भने गयेताका लागि बहरबद्धता अनिवार्य हुन्छ । कुनै न कुनै बहर अर्थात् छन्दमा बन्द हुनु नै गजलको निजी विशेषता हो । गजल बहरबद्ध हुनुपर्छ भन्ने पुरातन मान्यताले अर्द्यपर्यन्त उत्तिकै महत्त्व राख्दछ । बहरहीनता गजलको अक्षम्य दोष हुन्छ ।’ – डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, पाण्डुलिपिमा अधरामृतको आस्वाद ग्रहण गर्दा, गजल भूमिकावली, काठमाडौँ: रत्नपुस्तक भण्डार, २०६३, माघ, पृ. १२२) ज्ञानुवाकर पौडेले छन्दमणिद्वारा रचित छन्दबहरका शब्दलहर गजलसङ्ग्रहको ‘छन्दमणि’ लाई शुभकामना शीर्षकको शुभकामना लेखमा उल्लेख गरेअनुसार ‘गजलमा तरलता एवम् गेयात्मकताको आवश्यकता पर्दछ । शास्त्रीय छन्द र बहरमा रचित भएकाले नै यसमा त्यस पक्ष सवल बनेको मैले पाएँ ।’ – ज्ञानुवाकर पौडेल, ‘छन्दमणि’ लाई शुभकामना, छन्दमणि, छन्दबहरका शब्दलहर, कास्की: माछापुच्छे्र वाङ्मय प्रतिष्ठान, २०६५, पृ. च) डा. कृष्णहरि बरालले आफ्नो समालोचना कृतिमा ‘लय तथा छन्द गजलका लागि अनिवार्य तत्त्व हुन्’ भनेका छन् । – डा. कृष्णहरि बराल, गजल सिद्धान्त र परम्परा, दोस्रो संस्क., ललितपुर: साझा प्रकाशन, २०६८, पृ. ७४) ‘गजल लेख्दा छन्दमा ध्यान दिनुपर्छ । गजल गीतजस्तै गाउन मिल्ने हुनुपर्छ । मुक्त पद्य तथा अन्त्यानुप्रासविहीन पद्यमा गजल लेखिँदैन । शेरका दुवै पङ्क्ति एउटै बहर वा छन्दमा हुनुपर्छ । सबै असआर पनि एउटै हुनुपर्छ । – डा. कृष्णहरि बराल, गजल सिद्धान्त र परम्परा, दोस्रो संस्क., ललितपुर: साझा प्रकाशन, २०६८, पृ. ७८) वरिष्ठ गजलज्ञाता हुसैन खाँले युसुफदिन मियाँ पाल्पालीद्वारा लिखित एक बहर एक गजलको ‘एक बहर एक गजल’ को रसस्वादन गर्दा … शीर्षकीय भूमिकामा उल्लेख गरेअनुसार ‘बहर छोड्दैमा गजल बन्दैन भने बहर जोड्दैमा पनि गजल बन्न सक्दैन । गजलका विधि(विधानलाई अँगालिएन भने राम्रो गजलको सृजना हुन सक्दैन । त्यसैले भन्ने गरिन्छ यदि गजलका शेरहरूमा ‘इबारत’ (वर्णनन्यास), ‘इशारत’ (सङ्केतात्मकता) र ‘अदा’ (सुमधुर प्रस्तुति) हुनुका साथै जीवन्तता छ भने मात्र उत्कृष्ट गजल बन्छ ।’ – हुसैन खाँ, ‘एक बहर एक गजल’ को रसस्वादन गर्दा …, युसुफदिन मियाँ ‘पाल्पाली’, एक बहर एक गजल, चितवन: पल्लव साहित्य प्रतिष्ठान, २०६९, पृ. छ) केशवराज आमोदीले आफ्नो कृति बहर वाटिका (गजलसिद्धान्त र प्रयोग) मा ‘लयबिनाको शेर र बहरबिनाको गजल’ को के औचित्य (‘ भनेका छन् । – केशवराज आमोदी, बहर वाटिका (गजलसिद्धान्त र प्रयोग), चितवन: पल्लव साहित्य प्रतिष्ठान, २०६९, पृ. १) केशवराज आमोदीले आफ्नो सोही कृतिमा ‘गजलको सङ्गीतसित अत्यन्त सुमधुर तादाम्य सम्बन्ध रहने हुनाले गजललाई गेयात्मक विधा भनिएको हो । लयको निर्धारण छन्दले गर्दछ । बहर, गजल होइन तर बहरले गजललाई श्रुतिमधुर, मनोहर र मोहनीदार बनाउन मद्दत गर्दछ’ भनेका छन् । – केशवराज आमोदी, बहर वाटिका (गजलसिद्धान्त र प्रयोग), चितवन: पल्लव साहित्य प्रतिष्ठान, २०६९, पृ. १०) राजेन्द्र तारकिणीद्वारा सम्पादित प्यास राष्ट्रिय गजलपत्रिकामा मनु ब्राजाकीको बहरको भूतले गजलकारलाई तर्साउनु हुँदैन भन्ने शीर्षकको अन्तर्वार्तामा ‘गजलमा विधि विधान चाहिन्छ … छन्द पहिला पनि थियो र अहिले पनि छ । यो बिना गजल हुँदैन ।’ – मनु ब्राजाकी, बहरको भूतले गजलकारलाई तर्साउनु हुँदैन, राजेन्द्र तारकिणी (सम्पा.), प्यास, वर्ष९, अङ्क १, पूर्णाङ्क १९, वैशाख (असार, २०७०, बैतडी: दीपसागर प्यासी, पृ. १२) मनु ब्राजाकीले सोही अन्तर्वार्तामा ‘बहर भनेको के हो ( आखिर छन्द नै हो । लय र मर्मस्पर्शी शब्द त गजलका गहना हुन् । मैले लेख्ने गजलमा मात्र हैन सबैका गजलमा बहर हुनुपर्छ, तर यहाँ परम्परागत बहर र स्वनिर्मित नाममा विवाद उर्ठाईंदै छ ।’ … ‘गजल गेयविधा भएकोले लयमा ध्यान दिनुपर्यो । लालित्यपूर्ण, मीठा शब्द चयन गर्न तिर ध्यान दिनुपर्यो ।’ – मनु ब्राजाकी, बहरको भूतले गजलकारलाई तर्साउनु हुँदैन, राजेन्द्र तारकिणी (सम्पा.), प्यास, वर्ष ९, अङ्क १, पूर्णाङ्क १९, वैशाख–असार, २०७०, बैतडी: दीपसागर प्यासी, पृ. १३) यसबाहेक पनि धेरै अग्रजहरूले पचासौँ लेख–आलेख र भूमिकाहरूमा ‘गजल बहर, छन्द वा लयमा नै अनुबन्धित भएर लेखिन जरुरी छ’ भनेर उल्लेख गरेको पढ्न पाइन्छ । निकट भविश्यमै लोकार्पण हुन लागेको गजलकार इसुफदिन मियाँ ‘पाल्पाली’को ‘मुतकारिब दीवान’ नामक गजलसङ्ग्रहको भूमिकाबाट केही अंश साभार गरिएको ।
