दाइलाई . . . . .

Ma Knows, Bhandari, मनोज भण्डारी, pallawa, पल्लव

मनोज भण्डारी

मेरो दाइ मदन भण्डारीको जन्मदिनमा सानो टुक्रो . . . . . . . . . .

छ मौरी कहाँ गण्य कीराहरूमा ।
कहाँ प्रेम साटिन्छ हीराहरूमा ?
दियौ स्नेह वात्सल्य आँखाहरूमा ।
म पाउन्नँ खोजेर पाखाहरूमा ।१।

म लड्दा उठायौ समाएर हात ।
दियौ चम्किलो जीवनीको प्रभात ।
फुल्यो जिन्दगी भ्रातृताको लतामा ।
छ के भिन्नता दाजु वा देवतामा ।२।

 

फिँजाएर कापी , समाएर औँला ।
दियौ शब्द कोर्ने कला के भुलौँला ।
चढाएँ तिमीमा भरी प्रेमप्याला ।
तिनै शब्दलाई बनाएर माला ।३।

न ता गाउने ढङ्ग वा तान राग ।
म ता साँच्चिकै भैसकेको छु काग ।
कतै कोइली छौ भने आइदेओ ।
लगी गीत यो भाइको गाइदेओ ।४।

तिमीसाथ संसर्ग पाएर मानौँ ।
छ दुःखी चितौने खुसी काठमाडौ ।
तिमी हेरिदेऊ खुली भित्रबाट ।
तिमी खोज्छ यो चञ्चले देवघाट ।५।

कहाँ भाव पाइन्छ खोजेर फेरि ।
सबै शब्द मेरा त्यसै छन् अटेरी ।
कतै भूल होलान् भए माफ देऊ ।
बिताऊँ सधैँ जिन्दगी दाजुछेउ ।६।

(भुजङ्गप्रयात )
मै ( दाइको भाइ )
भूस्वर्गबाट ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.