चलौं उल्टो बाटो सफर . . . . . .

Dhanraj, Giri, धनराज गिरी ‘आनन्द’ pallawa, पल्लव

धनराज गिरी ‘आनन्द’

म सानो फुच्चेको वचन सुनिद्यौ हे मनुज हो
मलाई आफ्नोमा अब त चुनिद्यौ हे अनुज हो
म लाटो बैरोको गरिब जनको मानिस बनौं
सबै सोझालाई सरल पथ राम्रो अब खनौं

बनी प्रेमी सारा जगतभरमा टल्किन पर्यो
यही यौटा आगो मनुज मनमा सल्किन पर्यो
गरी हातेमालो प्रगति पथमा लम्किन सके
लहै बन्छौं हामी रवि शशिसरी चम्किन सके

 

भयो जे जे साथी बिगत दिनमा यो नगरमा
लागी पोलौं आजै प्रदुषण सबै त्यो बगरमा
हिमाली हावा झैं सर सर चलौं शीतल बनी
बनौं हामी प्यारो मन वचनले अब्बल धनी

गरौँ यस्तो पूजा महल झुपडीको रहरमा
चलोस् राम्रो चर्चा वर पर सबै यो शहरमा
उज्यालो बस्तीमा पल पल सधैं देखिन पर्यो
कथा नौलो राम्रो अब त सजिलै लेखिन पर्यो

पढौं नेपालीले सरस रचना गायक बनौं
लहै मौरी हामी कलम पथमा लायक बनौं
यही बिन्ती मेरो सकल जनले आज सुनिद्यौ
नयाँ नौलो बेग्लै झिलमिल हुने काज चुनिद्यौ

मिले हामी सारा गणित हल हुन्थ्यो जगतमा
सबै गाँठा फुक्थे प्रणय रस बग्थ्यो रगतमा
मनै हो मान्छेको टह टह यही टल्किन पर्यो
बनी आशाबादी मनुज हितमा ढल्किन पर्यो

भलोमा प्राणीको मन धन सबै अर्पण गर्यौं
लहै चोखो पानी सरल मनले तर्पण गर्यौं
सही छानौं बाटो हिम शिखरमा चढ्नु छ भने
चलौं उल्टो बाटो सफर नसकी लड्नु छ भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.