म मान्छे ,मान्छेकै मनगगनमा चम्किन सकूँ
गरी हातेमालो मनुज हितमा लम्किन सकूँ
बनी चौतारीमा वर पिपल झैं अग्लिन सकूँ
उज्यालो बत्ती भै म त मइन झैं पग्लिन सकूँ
म लेखौं नेपाली सरल कविता साधक बनी
न लागौं स्रस्टाको कलमपथमा बाधक बनी
गरौँ केही राम्रो असल जनको सङ्गत गरौँ
म खोजी खोजी ती सरस कविता ग्रन्थ म चरौं
म देखौं नेपाली मुसुमुसु सधैं मस्किरहने
न देखौं नेपाली पल पल त्यसै झस्किरहने
न होस् पीडा त्यस्तो मनुजमनमा चस्किरहने
न होस् केही मान्छे जगत भरमा हस्किरहने
नदीको पानी झैं सललल बगौं भन्छ मन यो
हिमाली हावा झैं अलि चकचके बन्छ मन यो
प्रियाको काखैमा लुटुपुटु गरी जीवनभरी
म बाचौं नाचौ रे झिलमिल सखे प्रेमनगरी
उकाली ओराली रन वन सबै डुल्न म सकूँ
यतै यो माटोमा तरर पसिना भुल्न म सकूँ
मरी जाने चोला सकल जनको चाहत बनौं
म बाढी पैरोमा दुखित सबमा राहत बनौं
