अहो के भो यस्तो कुरूप कविता लेखिन गयो
कठै पानी पानी नयनदह्मा देखिन गयो
गए टाढा धेरै गगन पथमा तार चुँडियो
हरे ती प्याराको रहर सपना सार चुँडियो
भरे भेटौंला है खबर पनि छोड्यौ समयमै
सुखी हौला भन्दै महल धन जोड्यौ समयमै
गयौ छोडी सारा नयनगगरी छल्किन गयो
खरानी भो आजै घर वन सबै सल्किन गयो
बिहानै अस्तायौ प्रकृति नियमै तोडिन गयो
अहो हिड्दा हिड्दै प्रियतम सखे छोडिन गयो
अँध्यारो भो बस्ती तममय भयो जीवन हरे
कठै धागो पोते धर धर रुने रीवन हरे
अभागी नेपाली असमय ढले बालबनिता
अहो आयो कस्तो चलन जगमा काल सरिता
न भित्रै भो रक्षा न त पर कतै जोगिन सक्यौं
हरे के भो के भो ?पल पल सधैं रोगिन सक्यौं
न आमा बाबाको अनुज अनुजाको हुन सक्यौ
मरें आमा भन्दै छटपट गरी नै रुन सक्यौ
भयो धोका साथी प्रबिधि पथमै खण्डित भयो
भनौ के लेखौं के ?सरल ममता दण्डित भयो //
Dhanraj Giri
