तेह्रथुम जिल्लाको गजलकारिता – हिँजो र आज

Keshu,birahi, केशु बिरही ,pallawa,पल्लव

केशु बिरही

तेह्रथुम सुदुर पूर्वमा पर्ने एक सुन्दर एवम् मनोरम पहाडी जिल्ला हो । शैक्षिक तथा राजनैतिक हिसावले अगाडि देखिदै आएको यो जिल्ला सहित्यिक क्षेत्रमा पनि उतिकै अग्रणी जिल्लाको रुपमा परिचित रहँदै आएको छ । साहित्यका सवैखाले विधामा केन्द्रसंग कुममा कुम जोड्दै आएको यो जिल्ला गजल विधामा पनि त्यति पछि देखिदैन । अन्य जिल्लालाई पछि पार्दै अगाडि वढि रहेको छ । दशौ शताब्दीमा इरानी अन्धा कवि रौदकी (अबु अब्द अल्लाह सफर इब्न मुहम्बत)बाट जन्मिएको विश्वास गरिएको यो विधा वि.स.१९४०मा मोतीराम भट्ट (१९२३–१९५३)बाट नेपालमा भित्रिएको हो । मोतीराम भट्टबाट नेपाली माटोमा भित्रिएर झण्डै चारदशक जति सुशुप्त अवस्थामा रही वि.स.२०३६ सालपछि पुनः मौलाउने अवसर पाएको गजल विधाले तेह्रथुम जिल्लामा भने आधिकारिक रुपमा वि.स.२०४६ साल पछि मात्र भित्रिने अवसर पाएको देखिन्छ । वि.स.२०४६ साल पछि भने यो विधा तेह्रथुम जिल्लामा निरन्तर रुपमा अघि वढिरहेको छ । यो जिल्लाको गजलको पछिल्लो अवस्था माथि दृष्टिगोचर गर्दा यस्तो निष्कर्षमा पुग्न सकिन्छ कि– आजको तेह्रथुमे गजल र यहाँको गजलकारिता फक्रदो अवस्थामा छ । फुल्दो अवस्थामा छ ।


यो जिल्लामा सर्वप्रथम गजललाई कसले भित्र्यायो भन्ने कुरा यकिन गरेर भन्न सकिने अवस्था छैन । त्यसको वारेमा इतिहास पनि मौन देखिन्छ । कुनै समालोचकले पनि यसवारेमा लेखेको भेटिदैन । । तसर्थ जिल्लामा यसैले गजल भित्र्यायो भनेर किटानीका साथ भन्न सकिने अवस्था छैन । हुन त जिल्लामा गजल भित्र्याउनेको वारेमा केही दावा भने नदेखिएका होइनन । तर प्रमाण नभेटिदा ती दावालाई आधार मान्न सकिने अवस्था थिएन ।
हुन त मैले यस आलेखमा तेह्रथुम जिल्लामा गजललाई कसले भित्र्यायो भन्ने भन्दा पनि यहाको गजलकारिता के कसरी अगाढि वढिरहेको छ अथवा तेह्रथुमे गजलकारिताको पछिल्लो अवस्था कस्तो भन्ने कुरालाई खोतल्ने जमर्को गरेको छु ।
यस जिल्लामा गजललाई प्रश्रय दिनेहरूमा विजय सुब्बा, केशु बिरही, निरकुमार तिमुर, अभागी थेगुवा, खगेन्द्र पन्धाक लिम्बू, डिल्लिराम चाँपागाई ‘परदेसी, मित्र संग्रौला, राजकुमार तेयुङ् ‘तरेवा’, स्व. दिनु तिवारी ‘प्यासी’, एकादेशको गगनराज, दिल पाक्सावा तथा गनिन्द्र बिवश लगायतका पर्छन ।
निरकुमार तिमुरका ‘सप्तकोशीको किनारबाट’ (२०५४)मा २वटा गजल प्रकाशित देखिए पनि त्यस पछि भने उनले यो विधाबाट हात धोएको देखिन्छ । त्यस पछि उनका कुनै पनि गजल प्रकाशनमा आएका देखिदैनन । पछिल्लो समयमा उनको कविता विधामा उपस्थिती देखिए पनि भन्न त भन्नेहरु तिमुरलाई साहित्य छाडेर राजनीतिमा होमिएको आरोप लगाउन पनि पछि पर्दैनन । तर जे भए पनि उनले यो विधाबाट हात धोएको भने पक्कै हो ।
तर माथि उल्लेखित वाँकी गजलकार भने निरन्तर रुपमा यो विधामा कलम चलाईरहेका छन । हालसम्म पनि जिल्लको गजलकारितालाई टेवा दिईरहेका छन । यो जिल्लाको गजलकारितामा विजय सुब्बा सवै भन्दा अग्रणी देखिन्छन । साहित्यका अन्य विधामा पनि उतिकै पोख्त देखिने सुब्बा वि.स.२०४६ साल पछि देखि निरन्तर रुपमा गजल लेख्ने मध्येमा पर्छन । विजय सुब्बा पछि जिल्लाको गजलकारितामा केशु बिरही (खाम्लालुङ्), स्व. दिनु तिवारी ‘प्यासी (चुहाण्डाँडाँ), खगेन्द्र पन्धाक लिम्बू (पौठाक), डिल्लीराम चाँपागाई ‘परदेसी (छातेढुङ्गा), राजकुमार तेयुङ् ‘तरेवा’ (सोल्मा), दिलदुःखी जन्तरे (बसन्तपुर),
गोपालप्रसाद संग्रौला (छातेढुङ्गा), मित्र संग्रौला (छातेढुङ्गा), रामकुमार योञ्ज ‘गाउँले’ (छातेढुङ्गा), एकादेशको गगनराज (छातेढुङ्गा), सुनिता सुब्बा ‘आँसु (छातेढुङ्गा), लक्ष्मी तिवारी ‘छितिज (चुहाण्डाँडाँ), रविमान लम्जेल (थोक्लुङ), रामकुमार योञ्जन ‘गाउँले (छातेढुङ्गा) आदिको नाम आउँछ ।
(नोटः माथि उल्लेखित नामहरु तेह्रथुममै यही माटोमा निरनतर रुपमा गजलकारिता गर्नेहरु मध्येमा पर्छन ।)
लामो समय सम्म केही मानिसको घेरामा मात्र सिमित रहेको यो विधाले २०५५५६ साल पछि केही फराकिलो र ६०को दशक पछि भने त झनै यसले व्यापकता लिएको पाइन्छ । यो अवधीमा जिल्लाका हरेक क्षेत्रमा गजल संवन्धी संघ –संस्था खोलिने तथा साहित्यिक पत्र–पत्रिकाका प्रकाशन भएका देखिन्छन । यी गजल संवन्धी संघ –संस्था तथा साहित्यिक पत्र –पत्रिकाले जिल्लाको गजलकारितामा रक्तसंचारको काम गरेको पाइन्छ ।
देवेन्द्र सुर्केली (ओयाक्जुंग), दिल पाक्सावा, प्रकाश पाक्सावा, र प्रबिण रसाईली (हमरजुङ), गनिन्द्र बिवश (फाक्चामारा), प्रेम लिम्बू ‘निसाम’, पूर्वेली ठूले रेला (सिम्ले), विद्युत मादि याक्खा, एलिना सङ्ग्रौला, होमा कन्दङ्दङ्वा, र पिवन कन्दङ्गवा (छातेढुङ्गा), सावित्रा घोर्षाने (सुदाप), अमृत क्षेत्री ABC, छवि सनम कन्दङ्वा र दुर्गा दर्शन लिम्बू  (चुहाण्डाँडाँ), भिम ‘स्नेही’ लिम्बू ( ), सरोज पयाङ्गो लिम्बू (जलजले), दिलिप पराजित (पञ्चकन्या), देबी अभिषेक
डाँगी (ह्वाकु), रोशन यात्री (ओख्रे), विशेश लिम्बू ( ), उद्धव लुईटेल (जिरिखिम्ती), मनकुमार फम्बो र विश्व आचार्य, (संक्रन्तिबजार) आदिले ६०को दशक पछि आफ्नो गजलकारितालाई मजवुत वनाउँदै आएका देखिन्छन । (नोटः यी माथि उल्लेखित नामहरु मध्ये अधिकांक्षका गजलसङ्ग्रह प्रकशित छन भने साथै वाँकी नाम पनि नियमित रुपमा गजलकारिता गर्ने मध्येमा पर्छन ।)

त्यस्तै बिनेश मावोहाङ, सविन लिम्बु, सुजन मादेन सोल्टी, उद्धव लुईटेल, जे.वी. खाबाहाङ, मिमिसा ‘पागल’कन्दङ्दङ्वा, हरिप्रसाद डाँगी, लक्ष्मी चँन्द्र इङ्नाम, संजय इङ्नाम, रिदना कालीकोटे, सृजना इङ्नाम सुप्रिया, सृजना चट्याङ्ग पराघरी, कमला प्रिती इम्सङ्ग, जेशन लिम्बू, डिल्ली सोहाङ्मा इम्सङ्, कृष्ण दुःखी पारघरी, डिल्लीराम घिमिरे, पुस्पा घिमिरे, लोकेश कन्दङ्वा, नविन ‘संकल्प’ देवान, तारा ‘संकल्प’ सिगु, होमा पारघरी, रेवत विरानो पराघरी, जानुका लिम्बू, संझना अधिकारी, सरोज सुसारा साम्बा, सेसेहाङ हुक्पा चोङ्वाङ, गणेश भेट्वाल, निशा पाक्सावा, विपना आङ्खेवा, दिवाना घोर्षाने दोशी, स्पर्श दिप जलन, निरविन्दु थोक्लेन, कृष्ण दुःखी सुब्बा, टिका पराघरी, कालु इच्छीहाङ चोङवाङ, राजकुमार चोङ्वाङ्, नरेन्द्र खापुङ, मुना मुस्कान खतिवडा, निरु खतिवडा, टिका कुरुङ्वाङ्, सुम्नीमा समर्पण, भरत भण्डारी ‘निरासी, तारा गौतम, राजकुमार ‘हुक्पा’ चोङ्वाङ, कृष्णकला वनेम, चिन्ता घिमिरे, प्रकाश प्रयाशी, कुशल इङ्गनाम, जयकुमार वि.क, मनहाङ् इङ्गनाम, रमिला घिमिरे, निशा मैनाली, प्रज्वल विकल्प वञ्चित, पुष्प अनुराग गाउँले, मनकुमार पराघरी, वि आर के सुब्बा, प्रकाश लिम्बू, मधुसुधन वस्नेत, निष्ठुरी स्काई लिम्बू सविन, सुमन अभागी मादेन, देवका वस्नेत, नेत्र खापुङ्ग, पूर्णराज पयाङ्गो लिम्बू, राजन लुईटेल तथा सागर ‘अजनवी’लगायतकाले पनि पछिल्लो समयमा गजल लेखनमा आफ्नो सक्रियता वढाएका छन ।

(नोटः माथि उल्लेखित नामहरु पछिल्लो समयमा तेह्रथुमे गजलकारितामा उपस्थिती देखाउने मध्येमा पर्छन ।)साथै तेह्रथुममा जन्म (मूलथलो) भै अन्य जिल्लामा गजलकारिता गर्नेको संख्या पनि त्यति कम छैन । तिनीहरु मध्ये अभागी थेगुवा (जिरिखिम्ती), पि.एस. निङ्लेखु लिम्बू (साव्ला), गोपिकृष्ण ढुङ्गना ‘पथिक’ (इसिवु) र लोकेन्द्र वञ्जरा (जलजले) प्रमूख पर्न आउछन । तेह्रथुममा जन्म भै अन्य जिल्लामा गजलकारिता गर्ने मध्ये अभागी थेगुवाको ‘तेह्रथुमे गजलकारिता’को विकाशमा ठूलो योगदान रहेको छ । उनकै सक्रियतामा नै ‘गुम्बज’ साहित्यिकको प्रकाशन भएको थियो भने उनले ‘तिनजुरे साहित्य प्रतिष्ठान’को निर्माणमा ठूलै कसरत गरेका थिए ।

त्यस्तै यहा जनजाती भाषामा गजल लेख्नेको संख्या पनि कमी छैन । जनजाती अन्तर्गतको लिम्बू भाषामा गजल लेख्ने मध्येमा राजकुमार तेयुङ ‘तरेवा’ (सोल्मा) र सेसेहाङ लिम्बू (इसिवु) आदि पर्छन । राजकुमार तेयुङ ‘तरेवा’ को वि. स. २०६८मा ‘मेरिङगेन मिक्वा’लिम्बु भाषाको गजल संग्रह प्रकाशित भएको देखिन्छ ।

२०४६ सालको राजनैतिक परिवर्तनमा अग्रणी भूमिका निभाउन सफल यो जिल्लाले देशका सवैखाले परिवर्तनलाई नेतृत्व गर्दै आएको कुरा भने घाम जस्तै छर्लङ्गै छ । राजनैतिक होस या साहित्यिक होस । यो जिल्ला अरु भन्दा कहिल्यै पनि पछि परेन । न कसैसंग हारगुहार गर्यो न कसैसंग विलाप नै गर्यो । निरन्तर निरन्तर रुपमा हाँकमा हाँक वनेर अगि वढिरह्यो र वढिरहने छ पनि ।
यसरी यो जिल्ला राजनैतिक वा साहित्यिक रुपमा अगाडि देखिनुको कारण भनेको पूर्वी पहाडी जिल्लाकै पुरानो वा पहिलो सरकारी क्याम्पस विरेन्द्र इन्टर कलेज (पछि आएर तेह्रथुम क्याम्पस)को निर्माण हुनुले पनि हो । यसकै माध्यमबाट धेरैले शैक्षिक, राजनैतिक तथा साहित्यक क्षेत्रमा आफ्नो दरिलो उपस्थिती जनाउँन सफल देखिएका छन । यो क्याम्पसबाट अध्ययन गर्नेहरू आज देशमा मात्र नभएर विदेशमा समेत दरिलो उपस्थिती जनाउन सफल भएका छन ।
पूर्वी पहाडी क्षेत्रमा एउटा मात्र सरकारी स्तरमा संचालित क्याम्पस भएकै कारणले पञ्चायतकाल देखि नै त्यहाँ अध्ययन गर्न आउँनेको ठूलै भिड हुन्थ्यो । पहाडी जिल्ला ताप्लेजुङ्, पाँचथर, संखुवासभा, भोजपुर, धनकुटा, इलाम लगायत तराईका अन्य जिल्लाबाट पनि अध्ययनको लागि त्यहा मानिसहरू अउँने गर्थे । (यो क्रम अध्यावधी पनि छँदैछ ।) वाहिरी जिल्लाबाट आएका विध्यार्थीहरु र यो क्षेत्रमा भएका विध्यार्थीहरु बीच आ–आफ्ना क्षेत्रमा भएका साहित्यिक गतिविधीलाई आदान प्रदान गर्ने काम हुन्थ्यो । यो परिपाटीले गर्दा पनि यस जिल्लाको साहित्यिक गतिविधी तुलनात्मक रुपमा अगाडि देखिएको एउटा कारण मान्न सकिन्छ । त्यसो त यो जिल्ला स्वयम्मा पनि पञ्चायतकाल देखि नै साहित्यिक क्षेत्रमा गतिलो उपस्थिती जनाउँदै आएको जिल्ला हो । पंचायतकालीन अवस्थामा पनि यहाबाट थुप्रै साहित्यिक संघ– संस्था र पत्र– पत्रिका प्रकाशन हुने गर्थे । साहित्यको माध्यमबाट जनतालाई जागरुक वनाएकै कारणले तत्कलिन पंचायती शाकसबाट प्रतिवन्धित हुन विवश ‘साहित्य संगम’तेह्रथम नामको साहित्यिक संस्था र त्यसको प्रकाशन ‘संगमसुधा’यसको एउटा गतिलो प्रमाण हो । देश भित्र मात्र नभएर विश्वमै चर्चा कमउन सफल डा. अभि सुवेदी, डा. सूर्य सुवेदी आदि जन्मिएको जिल्ला हो यो ।
त्यस्तै डा.खगेन्द्रप्रसाद लुइँटेल, स्वं. अनिरुद्ध तिम्सीना, विश्वविमोहन श्रेष्ठ, आदि पनि यही जिल्लाका उपज हुन ।

प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्य समेत वन्न सफल खोजकर्ता तथा समालोचक रविमान लम्जेल पनि यही जिल्लाका उपज हुन । साथै आफ्नो जीवनभरीको कमाई समाजसेवामा अर्पने समाजसेवी तिलाहाङ् हाङश्रोङ लिम्बूलाई पनि यही जिल्लाले जन्माएको हो । थुप्रै समाजसेवी, राजनेता, अभिनेता लेखक, साहित्यकार, वकिल, पत्रकार, पाइलट, समालोचक, खोज अन्वेषक आदिलाई जन्माएको छ यो जिल्लाले । यो जिल्लाको गजलकारिताको सुरुवाती अवस्थालाई तुलनात्मक रुपमा हेर्ने हो भने जिल्लाको आठराई क्षेत्र अन्य क्षेत्र भन्दा केही अगाडि देखिए पनि पछिल्लो समयमा भने सवै क्षेत्रमा गजलकारिताको विकाश संयक रुपमा भएको पाइन्छ । शैक्षिक रुपमा अन्य क्षेत्र भन्दा अगाडि भएकै कारणले साहित्यका अन्य विधामा पनि अघि देखिएको यो
क्षेत्र गजलमा पनि अघि देखिनुलाई तथ्यसंगत नै मान्नु पर्छ । तर पछिल्लो समयमा भने त अन्य क्षेत्रहरु पनि आठराईसंग कुममा कुम जोडेर अगाडि वढिरहेको पाइन्छ ।
२०६० साल पछि भने सदरमुकामबाट टाढा रहेका छथर, बसन्तपुर, हमरजुङ, ओख्रे, सिम्ले, लगायतका स्थानमा पनि गजलले उतिकै मौलाउँने अवसर पाएको छ । त्यहाका युवाहरु गजलमा रमाइरहेका छन । गजल लेखनमा अग्रसर भैरहेका छन । एक पछि अर्को राम्रा राम्रा गजलकृतिहरु प्रकाशित भएका छन र हुने क्रममा छन । यसरी तुलनात्मक रुपमा जिल्लाको आठराई क्षेत्र गजलमा अगाडि देखिनु छिमेकी जिल्लाको गजलकारिताको विकाशलाई पनि एउटा कारण मान्न सकिन्छ । यो क्षेत्र ताप्लेजुङ्ग र पाँचथरको अति नजिक अर्थात काखमै पर्छ ।
पाँचथर गजलकारितामा अन्य जिल्लाको तुलनामा अलि अगाढि देखिन्छ । पूवाञ्चलकै पहिलो गजल कृति (धर्ती आकास, चँन्द्र ‘प्रभात’ पोखरेलको) जन्माउँन सफल जिल्ला हो –पाँचथर । त्यहाँ प्रेम ओझा, लेखनाथ ‘सिकारु’, रामकुमार ‘समथींग, रमेश ‘सुभेच्छु’ , दुःखी महल तिम्सीना, सगुन सुसारा जस्ता शसक्त गजलकारहरू गजलमा सक्रिय रहदै आएका थिए ।
अलि अगाडि फर्किएर हेर्ने हो भने पचासको दशक पछिका आठराई क्षेत्रमा हुने गजल संवन्धी कार्यक्रममा पाँचथरे गजलकारहरूले सहभागिता जनाउने र पाँचथरमा हुने यस्ता कार्यक्रममा आठराईबाट पनि सहभागिता जनाउने परिपाटी थियो । हुनत यो परिपाटी अध्यावधी पनि छँदैछ । यस परिपाटीले पनि एक आपसमा सिर्जनाको श्रवण गरेर रमाउने मात्र नभएर आफ्ना अनुभव साटासाट हुने अवसर पनि मिलेको थियो । यसकै प्रभावले पनि यो क्षेत्रमा
गजलकारिताको विकाश चाँडो र सशक्त भएको कुराई भने नकार्न मिल्दैन ।
त्यस्तै यो क्षेत्रमा वा जिल्लामै फष्ठाएको गजलकारितामा कतै न कतै ‘जुझारु’साहित्यिक पत्रिकाको नाम जोडिन पुग्छ
। ‘जुझारु’ जिल्लाकै पहिलो हवाई साहित्यिक पत्रिका हो । वि.स.२०५६ सालमा केशु बिरही, स्वं दिनु तिवारी ‘प्यासी’
लगायक जागरुक युवा गजलकारहरूले यस पत्रिकाको सुरुवात गरेका थिए ।
‘जुझारु’को प्रकाशन पछि जिल्लाका अन्य क्षेत्रमा साहित्यिक पत्र–पत्रिहरू निस्किन थाले । साहित्यिकमा –‘संगम
सुधा’, ‘बहूमुखी, ‘वेदना’, ‘थाक्चोलुंङ’, ‘गोरेटो’, ‘गहना’, ‘आन्दोलन’ ‘सोल्टिनी’, ‘यात्रा’ तथा समाचार प्रधान तथा विविधमा
‘खोजतलास, ‘अन्तर्दृष्टि’, ‘नव विहानी’, ‘मुन्धुम’, ‘नुमाफुङ’, ‘प्रणयन’, ‘विकसन’ तथा ‘तिनजुरे’ आदिले पनि यो जिल्लाको
गजलकारितालाई मलजल पुर्याए । माथि उललेखित साप्ताहिक तथा साहित्यिक पत्र–पत्रिकाहरूले साहित्यका अन्य
विधालाई भन्दा गजललाई महत्वपूर्ण स्थान दिदै आए । (मथि उल्लेखित मध्ये केहीले हाल पनि त्यो कार्यलाई
निरन्तरता दिइरहेका छन ।) फलत गजल विधा तेह्रथुममा मौलाउँदै आयो । यो विधा फष्ठाउँदै आयो ।
सुरुवातमा जिल्लामा गजल संवन्धी सैद्धान्तिक पाठ्पुस्तकको अभाव खड्कियो । जस्को कारणले जिल्लामा गजलको
विकाश सोचे जस्तो हुन सकेन । एकदशक सम्मको अवधिमा विधामा कलम चलाउनेको संख्या औलामा गन्न सकिने
थियो । यस्को मुख्य कारण गजल संवन्धी सैद्धान्तिक ज्ञानका अभाव नै थियो भनेर मान्दा गलत नहोला ।
सैद्धान्तिक पाठ्यपुस्तकका अभावमा गजल सिक्न चाहनेलाई यथेष्ठ ज्ञान दिन सकिएन । केही नेपाली विषयको ज्ञान
भएका विध्यालय तथा कलेजका गुरुहरुले गजललाई कनिकुथी गरेर पढाए । तर उनीहरुले गजललाई गजलको रुपमा
भन्दा पनि कविता वा कविताको सहायक विधाको रुपमा चिनाए । उनीहरुले त्यही पुरानो नेपाली बृहत शव्दकोषमा
उल्लेख गरिएको सूत्र “प्रेम विषयमा श्रृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा
लेखिएको कविता’’लाई रटाए । उनीहरुबाट गजललाई गजल भनेर सिकाउने भन्दा पनि कविता नै भनेर सिकाउने काम
भयो । गजललाई कविता नै हो भनेर रटाइदिदा त्यसमा पनि सैद्धान्तिक पाठ्यपुस्तकको अभावमा गजल जान्न
चाहनेहरुमा झन भ्रम पैदा गराइदियो । जसले गजल जान्न चाहनेलाई त दोविधामा पार्यो नै त्यसमा पनि गजललाई
छुट्टै अस्तित्वमा परिचित हुन झनै अल्झन पैदा गरिदियो । हुन त यो समस्या मात्र तेह्रथुमको थिएन । यो समस्याले
पुरै गजलकारितालाई जकडेको थियो । तसर्थ यो समस्यालाई तेह्रथुमे गजलकारिताको मात्र समस्या हो भनेर वुझ्नु र
वुझाउनु गलत ठहरिने छ ।
तर समय वित्दै जाँदा यो भ्रम चिरिदै गयो । गजल संवन्धी सैद्धान्तिक पाठ्पुस्तकको अभाव पनि पुरा हुँदै गयो ।
सैद्धान्तिक पुस्तकहरू लेखिए । जिल्ला भित्र मात्र नभएर जिल्ला वाहिर प्रकाशित नयाँ नयाँ सैद्धान्तिक पुस्तकहरू
भित्रिए । जिल्लाबाट प्रकाशित हुने विभिन्न पत्र –पत्रिकाले पनि गजललाई वढि महत्वका साथ प्रकाशन गर्न थाले ।
गजल संवन्धी लेखहरू पनि प्रकाशन हुन थाले । विभिन्न कार्यक्रममा गजलवारे र्चापरिचर्चा गर्ने काम हुन थाल्यो ।
गजल संवन्धी गोष्ठी तथा प्रतियोगिता हुन थाले । कविता र गजल वीचको भिन्नता छुट्याउने काम भयो । गजललाई
गजलकै रुपमा चिनाउने काम भयो न कि कविता वा कविताको सहायक विधाको रुपमा । जसको कारणले गजल
प्रतिको भ्रम चिरिदै गयो । सनै सनै गजल प्रतिको आकर्षण वढ्न थाल्यो । त्यसपछि के वुढा के तन्नेरी सवै जना
गजलमा रमाउल थाले । गजलको सौन्दर्यतामा हराउँन थाले । जताततै गजलको माहौल तयार भयो । फलतः आज
गजल एक समृद्ध विधाको रुपमा विकशित हुँदै आएकोछ ।
हामीले वुझ्नु र वुझाउनु पर्ने कुरा के हो भने गजल एक नितान्त शास्त्रीय विधा हो । यसको आफ्नो छुट्टै संरचना छ ।
आफ्नै नियम वा परिधी छ । जुन संरचना वा परिधीलाई छाडिएर वा लत्याइएर रचिएका सिर्जनाहरू गजलको कोटीमा
पर्न सक्दैनन । भावका हिसावले गजल कविता विधासंग र लयका हिसावले गीतसंग सामन्जस्यता भए पनि कविता
वा गीत गजल होइनन । र हुन पनि सक्दैनन ।
त्यस्तै गजल रदिफ र काफियाको संयोजन मात्र हो भन्ने भ्रम पनि देखिन्छ । तर रदिफ र काफियाको संयोजन मात्र
गजल होइन । रदिफ र काफिया भनेका त गजलका बाह्य वा आवरण तत्व मात्र हुन । गजललाई सशक्त वनाउनलाई
यी वाह्य तत्वका साथसाथै आन्तरिक तत्वहरू (लय, भाव, शब्द–विम्ब, अलंकार–प्रतिक, आदि)को पनि उतिकै ख्याल
गरिनु पर्छ वा यी ततवहरुको सफल रुपमा संयोजन गरिनु पर्छ भन्ने ज्ञान दिलाउन जरुरी छ ।
तेह्रथुमे गजलकारिताको पछिल्लो अवस्थालाई मध्यनजर गरेर यस्तो निस्कर्षमा पुग्न सकिन्छ कि ‘आजको तेह्रथुमे
गजल मौलाउँदो अवस्थामा छ । यो फुल्दो अवस्थामा छ । यो फल्दो अवस्थामा छ ।‘
तेह्रथुमे गजलकारिताको वारेमा चर्चा परिचर्चा गर्दा हामीले सप्तकोशीको किनारवाट (२०५४) संयुक्त गजलसङ्ग्रह लाई
पनि भुल्नु हुदैन । जुन पुस्तकलाई पूर्वाञ्चलको गजलकारिताको एउटा महत्वपूर्ण कृति मानिन्छ । उक्त कृतिले
निरकुमार तिमुर, अभागी थेगुवा, खगेन्द्र पन्धाक, रमेश सिङगक, मिना सिङ्गक र पसु सम्बाहाम्फे लगायतका
तेह्रथुमेका गजललाई पनि स्थान दिएको थियो । साथै उक्त पत्रिकाका ५ सदसीय संपादक मण्डलमा निरकुमार तिमुर
तथा अभागी थेगुवा पनि संलग्न थिए । यी दुवै तेह्रथुमे हुन ।
हुनत उक्त ऐतिहासिक कृतिमा आवद्ध रहेका अभागी थेगुवा र खगेन्द्र पंधाक लिम्बू बाहेकका व्यक्तीहरुले भने यो
विधलाई निरन्तरता दिएका पाइदैनन ।
साथै पछिल्लो तेह्रथुमे गजलकारिताको वारेमा चर्चापरिचर्चा गर्दा नेपाल ‘गजल प्रतिष्ठान’ लाई पनि हामीले भुल्न
मिल्दैन । संपूर्ण तेह्रथुमे गजलकारलाई समेटेर जिल्लाको गजलकारितालाई मूल प्रवाहमा ल्याउने अभिप्रायले तेह्रथुम
जिल्लामा वि.स. २०६४मा ‘नेपाल गजल प्रतिष्ठान जिल्ला शाखा तेह्रथुम’को स्थापना भयो । अपेक्षाकृत रुपमा नभए
पनि यस्ले केही हदसम्म भने तेह्रथुमे यूवा मनलाई समेट्ने काम गरेको छ । यूवा मनका भवनालाई फक्र्याउने काम
गरेको छ । फुलाउने काम गरेको छ ।
यही क्रममा ‘नेपाल गजल प्रतिष्ठान जिल्ला शाखा तेह्रथुम’ले वि.स.२०६९मा जिल्लाका ५७ गजलकारलाई समेटेर एउटा
‘तेह्रथुम गजल यात्रा’नामक कृति तयार पार्यो । यो कृतिका प्रधान संपादक छथर (हमरजुङ)का दिल पाक्सावा थिए
भने संपादकमा विनेश मावुहाङ्ग, र प्रकाश पाक्सावा थिए ।

त्यस्तै पछिल्लो समयमा जिल्लामा ‘रेडियो तेह्रथुम’ र ‘रेडियो मेञ्छ्याम’ गरी दुईवटा एफ एम रेडियोहरु संचालनमा छन
। जस्ले गर्दा पनि युवामनलाई झन छितो र छरितो ढङ्गबाट आफ्ना भावना वाढ्न सरल भएको छ ।
त्यस्तै पछिल्लो समयमा ‘रेडियो मेञ्छ्याम’ले प्रत्येक हप्ताको विहिवार वेलुकी ८.१५ मा ‘सिर्जना र साहित्य’ नामक
कार्यक्रम प्रसारण गर्दै आएको छ । उक्त कार्यक्रमले पनि पछिल्लो समयमा जिल्लाको गजलकारितालाई थप वढावा
दिने काम गरेको छ । यो कार्यक्रमको सुरुवाती नाम भने अर्कै थियो । त्यतीखेर यो कार्यक्रम सिम्लेका प्रेम लिम्बू
‘निसाम’ले ‘भावना’को नामबाट संचालन गर्दथे तर पछिल्लो समयमा यो कार्यक्रम सुङ्नामका निर्मल कार्कीले चलाउछन

साथै जिल्ला भित्र मात्र नभएर वाहिरि जिल्लाबाट प्रशारण हुने ‘एफ एम् रेडियोहरु’ले पनि तेह्रथुमे गजलकारितालाई
टेवा पुर्याउन सहयोग पुर्याएका छन ।

तेह्रथुम जिल्लामा हाल सम्म प्रकाशित गजल संग्रहहरूः
(१) बिजय सुब्बाका गीत र गजलहरू (२०५७) – बिजय सुब्बा (तम्फुला, तेह्रथुम ।)
(२) दन्किएको आगो (२०६३) – केशु बिरही (खाम्लालुङ, तेह्रथुम ।)
(३) एक धुन गजल गाएर जाऊ (२०५७) .– मित्र संग्रौला (छातेढुङा, तेह्रथुम ।)
(४) ज्ञानी (वाल गजल संग्रह -सन २००६), बिजय सुब्बा (तम्फुला, तेह्रथुम ।)
(५) मेरिङ जेन मिक्वा (वेदनाका आँसु) (२०६८) – राजकुमार तेयूङ ‘तरेवा’ (सोल्मा, तेह्रथुम ।)
(६) कृतिसंगै विताएको रात (२०६५) – दिल प्रतिक्षा, (हमरजुङ, तेह्रथुम ।)
(७) सुनिती (२०५९) – एकादेशको गगनराज, (छातेढुङा, तेह्रथुम ।)
(८) मौनताका रातहरू (२०६०) – गोपीकृष्ण ढुङ्गाना ‘पथिक’ (सम्दु, तेह्रथुम ।)*
(९) काठमाण्डौ गजल संग्रह (२०६१) – गोपीकृष्ण ढुङ्गाना ‘पथिक’(सम्दु, तेह्रथुम ।)*
(१०) सुस्केरा (संयुक्र गजल संग्रह) (२०६४) – केशु बिरही, (खाम्लालुङ, तेह्रथुम ।)
(११) बिम्ब ( २०६५) (संयुक्त गजलसङग्रह) – दिलदुःखी जन्तरे / देवेन्द्र सुर्केली।)
(१२) प्रतिक्षाका गजलहरू (२०६४) – प्रकाश पाक्सावा (हमरजुङ, तेह्रथुम ।)
(१३) सवी. ( ) – विद्युत मादि याक्खा, (छातेढुङ्गा, तेह्रथुम ।)
(१४) विक्षिप्त आत्मा (२०६५) – प्रविण रसाईली (हमरजुङ, तेह्रथुम ।)
(१५) समुन्द्र दन्के पछि (२०६८) – भिम ‘स्नेही’ लिम्बू गनिन्द्र बिवश दिल दुःखी जन्तरे राजकुमार तेयुङ ‘तरेवा’
(१६) दागवती (२०६७) – देवि अभिषेक डाँगी, (आठराई ह्वाकू , तेह्रथुम ।)
(१७) अनन्त (२०६६) – दिलिप पराजित, (फाक्चामारा, तेह्रथुम ।
(१८) दूई थुङ्गा फूल ( ) – पूर्बेली ठूले रेला, (सिम्ले, तेह्रथुम ।)
(१९) जीवल कहानी (२०६९) (कविता र गजल.) – सावित्रा घोर्षाने, (सुदाप, तेह्रथुम ।)
(२०) आकाश चुम्ने हातहरु (२०६१) – रविमान लमजेल, (थोक्लुङ, तेह्रथुम ।)
(२१) सिर्जनाका स्वरहरू (२०६६) (संयुक्र गजलसंग्रह) – गनिन्द्र बिवश, (फाक्चामारा, तेह्रथुम ।)
(२२) आँखाभरी सपना (२०६२) –लोकेन्द्र वञ्जरा, (जलजले, तेह्रथुम)*
(२३) हर्के, म अनि युद्ध (२०६६) (प्रयोगात्मक गजल काव्य) –अभागी थेगुवा, (जिरीखिम्ती, तेह्रथुम ।)*
(२४) आमा रुँदाको पिडा (२०६७) –मनकुमार फोम्बो (संक्रान्तिबजार, तेह्रथुम ।)
(२५) वियोग पिडा (२०६३) –दुर्गा दर्शन लिम्बु, (चुहाण्डाँडा, तेह्रथुम ।)
(२६) टुक्रिएको मन (२०६८) – छविसनम कंन्दंग्वा , (चुहाण्डाँडा, तेह्रथुम ।)
(२७) लहरा (२०६९) –विश्व आचार्य, (संक्रान्तिबजार, तेह्रथुम ।)
(२८) प्रतिविम्ब (२०७०) गोपालप्रसाद संग्रौला (छातेढुंगा, तेह्रथुम ।)

(नोटः * चिन्ह भएका गजलसङ्ग्रहरु तेह्रथुममा जन्म (मुलथलो) भई अन्य जिल्लामा गएर गजलकारिता गर्नेका हुन
।)

तेह्रथुमले राम्रा समालोचक हरुलाई पनि जन्माएको छ । तेह्रथुमे गजल समिक्षकहरु मुख्यतया विजय सुब्बा, केशु
बिरही, खगेन्द्र पन्धाक लिम्बू तथा डिल्लीराम चाँपागाई ‘परदेसी’ आदि पर्छन । विजय सुब्बाको वि.स. २०६६मा गजल
समिक्षा नामक कृति प्रकाशन भएको छ भने केशु बिरहीका विभिन्न राष्ट्रिय, क्षेत्रीय तथा जिल्ला स्तरका पत्र
–पत्रिकामा गजल समिक्षा प्रकाशित हुँदै आएका छन । साथै खगेन्द्र पन्धाक लिम्बू तथा डिल्लीराम चापागाई
‘परदेसी’ले पनि पछिल्लो समयमा आफूलाई एउटा राम्रो गजल समिक्षकको रुपमा चिनाउन सफल भएका छन ।
जिल्लामा रहेर होस या जिल्ला वाहिर रहेर होस तेह्रथुमे गजलकारिताको विकाशमा लागिरहने । परिस्कारको
आन्दोलमा समायित गर्दै गजलकै चर्चा परिचर्चामा आफूलाई समायित गरिरहने गजलकारहरूको वारेमा केही चर्चा गर्नु
आवस्यक ठानेको छु । त्यस्ता गजलकारहरूको तल सङ्क्षिप्त रुपमा चर्चा गरिएको छ ।

(१) विजय सुब्बा
तेह्रथुमे गजलकारितामा विजय सुब्बा (२०१५)को नाम अग्रणी स्थानमा आउँछ । यिनी विगत लामो समय देखि
जिल्लाको गजलकारितामा सक्रिय रहदै आएका छन । यिनको २०५७ सालमा प्रकाशित ‘विजय सुब्बाका गीत र
गजलहरू’ विसुद्ध गजलसंग्रह नभए पनि गजल संग्रहित भएको यो नै तेह्रथुम जिल्लाको पहिलो गजल कृति हो ।
यसमा गजल र गीतहरू समावेस छन । वामपन्थी राजनीतिमा अग्रसर भएका सुब्बाका गजलमा देशप्रेम वढी मात्रमा
वोलेको पाइन्छ । यिनका गजलहरूमा देशप्रेम वढी मात्रामा मुखरित भएको पाइन्छ । राजनीति तथा समजिक विकृति
विसंगतिप्रति पनि यिनी व्यङ्ग्य गर्न सफल देखिएका छन ।
विजय सुब्बाको गजल संवन्धी समालोचनात्मक पुस्ताक ‘गजल समीक्षा’ (२०६६) प्रकाशित भएको छ । यो गजलको
गतिलो सैद्धान्तिक कृति हो । यिनी गजल लेखनका साथै गजल समालोचनामा पनि उतिकै निपूर्ण देखिन्छन । गजल
लेखन तथा समालोचनाका साथै गीत संगीतमा पनि यिनी त्यतिकै अगाडि छन ।
तम्फुला, तेह्रथुम स्थाई ठेगाना भएका सुब्बाका ‘मधेष देखि मधेष सम्म’, ‘प्रतिनिधी वालगजलहरु, ‘ज्ञानी’ (वाल
गजलसंग्रह), ‘अराजकअक्षरहरु’ (कविता संग्रह), ‘वस्तीका संगम सुशेली’ (गीत संकलन) लगायतका कृतिहरु प्रकाशित
छन ।

(२) केशु बिरही
तेह्रथुमे गजलकारितामा विजय सुब्बाको नाम पछि केशु बिरही (२०३२)को नाम आउछ । यिनी विगत देखि वर्तमान
सम्म गजल लेख्नेमा पर्छन । खाम्लालुङ्ग गा.वि.स. वार्ड नं –९, (दोरप) तेह्रथुम स्थाई ठेगाना भएका यिनी विगत
लामो समय देखि गजल विधामा सक्रिय देखिन्छन । वाल्यकाल देखि नै साहित्य सिर्जनामा लागेका यिनी विगत
देखि वर्तमान सम्म गजलमा निरन्तर रुपमा लागिरहने मध्येमा पर्छन । पिताजी श्री घनश्याम ‘ज्योतिषी’संग भारत
आउने जाने क्रममा यिनले सानै उमेर देखि सायरी सिके । त्यही सायरी र मुक्तक हुँदै यिनी गजलमा प्रवेश गरेका हुन

सुरुवाती समय देखि नै गजल लेखेका भए पनि यिनी कृति प्रकाशनका दृष्टिले भने अलि पडाडि देखिएका छन । वि.सं
२०५६ सालमै देवी पन्थीलाई भूमिका समेत लेखाई सकेर प्रकाशनको तयारीमा रहेको गजल संग्रह ‘दन्किएको आगो’को
पाण्डुलिपी नै हराए पछि यिनी कृति प्रकाशनको दृष्टिले भने पछि पर्न गएका हुन । जुन कुरा देवी पन्थीले उक्त
कृतिको शुभकामना दिने क्रममा पनि उल्लेख गरेका छन ।
यिनको गजलसंग्रह ‘दन्किएको आगो’ वि.स.२०६३ मा मात्र आउन सफल भयो । यदि सोही समयमा यिनको संग्रह
आएको भए जिल्लाको मात्र नभएर सम्भवत पूर्वाञ्चलकै दोश्रो वा तेश्रो कृतिमा पर्न जान्थ्यो । तर उक्त कृति प्रकाशन
दृष्टिले पछि परे पनि बहरका गजलहरू समावेश तथा गजलको सैद्धान्तिक जानाकारी भएको दृष्टिकोणले महत्वपूर्ण कृति
मान्न सकिन्छ । उनले उक्त कृतिमा १०वटा विभिन्न बहरमा आवद्ध गरिएका गजलहरु समावेस गरेका छन ।
विभिन्न साहित्यिक तथा साजाजिक संघ -संस्थामा आवद्ध रहँदै थुप्रै पत्र –पत्रिकाका संपादन समेत गरिसकेका
बिरहीका ‘कहालीलाग्दा गोरेटाहरु’ (२०५७) (उपन्यास) सहलेखन, आमाको माया (२०५८) (उपन्यास) दन्किएको आगो
(२०६३) (गजलसङ्ग्रह), सुस्केरा (संयुक्त गजलसङ्ग्रह-२०६४), भास्कर वंशावली (२०६५) (वंशावली) लगायतका कृतिहरु
प्रकाशित भैसकेका छन भने उनका कथा तथा गजल समालोचना संवन्धी केही कृतिहरु प्रकाशनको तयारी रहेका छन

(३) खगेन्द्र पन्धाक लिम्बू
खगेन्द्र पन्धाक लिम्बू (२०३६) एक राम्रा गजलकार हुन । यिनी तेह्रथुमे गजलकारितामा विगत लामो समय देखि
निरन्तर रुपमा गजल लेख्ने मध्येमा पर्छन ।
सुन्दर गजल सिर्जनामा खप्पीस यिनी आफ्ना सिर्जनाहरुसंग आफै रमाउन चाहन्छन । यिनी आफ्ना सिर्जनालाई
प्रकाशनमा ल्याउने भन्दा पनि आफ्नै आनन्दका लागि लेख्ने मध्येमा पर्छन । यिनीका गजलहरु त्यति पत्र–पत्रिकामा
प्रकाशित भएका पनि देखिदैनन । त्यसो त यिनी आफ्ना सिर्जनालाई प्रकाशनमा ल्याउन चाहदैनन पनि ।
उनी भन्छन -मेरो गजल कृति प्रकाशित छैनन । म कुनै संस्थासंग पनि आवद्ध छुइन । म आफ्ना लेखरचना कुनै
पनि पत्रिकामा संप्रेषण् गर्दिन । तर मलाई लाग्छ म गजलको शास्त्रीय पक्ष र रिहाई पक्षको वारेमा केही लेख्न र वोल्न
सक्छु ।‘ तसर्थ उनी आफ्ना सिर्जनाका आफै पाठक हुन भने समालोचक पनि आफै हुन भन्दा पनि गलत नठहर्ला ।
आफूसंग दर्जनौ सुन्दर गजलहरु हुँदा पनि कृतिको रुपमा नल्याउनुले पनि उनी पाठकको लागि नभएर आफू रमाउनकै
लागि मात्र गजल लेख्छन भन्ने कुरालाई प्रमाणित गरिदिएकोछ ।
पौठाक, तेह्रथुम जन्म भई विगत लामो समय देखि प्रवासमा रहँदै आएका लिम्बुले अनलाईन सहित्यिक दुनियामा भने
आफूलाई एउटा राम्रो गजल गुरुको रुपमा चिनाएका छन । यिनी विषेशत ‘रिहाई गजल’ तथा ‘अमूर्तवोधी दर्शन’मा
विश्वास राख्छन । विगत लामो समय देखि यिनी यहि कुराको चर्चा परिचर्चामा तल्लीन देखिन्छन ।
गजलका साथसाथै गीत संगीत तथा आख्यानमा पनि राम्रो दख्खल राख्ने लिम्बुको पछिल्लो समयमा ‘अबस्ट्रयाक्ट
बैंकक’ नामक उपन्यास प्रकाशित देखिन्छ ।

(४) डिल्लीराम चाँपागाई ‘परदेसी’
संग्रह प्रकाशनमा नआए पनि डिल्लीराम चाँपागाइँ ‘परदेसी’ (२०३७)को गजल यात्रा भने लामो देखिन्छ । यिनी विगत
लामो समय देखि गजल विधामा कलम चलाउदै आएका देखिन्छन । मूलत यिनका गजलले परिवर्तनको आसा पालेका
छन । यिनी सिर्जना मार्फत समाजमा परिवर्तन चाहन्छन । जुन परिवर्तनले समाजको विध्यमान खाडललाई पुरा
गरोस भन्ने ठान्छन । विभेधको अन्त्य गरोस भन्ने भाव व्यक्त गरिएको पाइन्छ यिनका गजलमा ।
यिनका दर्जनौ गजलहरू विभिन्न राष्टिय तथा क्षेत्रीय स्तरका पत्र–पत्रिकामा प्रकाशित भएका देखिन्छन । यिनी राम्रा
गजल लेख्नेको कोटीमा पर्नुका साथसाथै राम्रो समालोचना गर्न सक्नेमा पनि पर्छन । कहिल्यै पनि परदेस नगएका भए
पनि यिनले आफ्नो नामको पछि ‘परदेसी’ उपनाम राखेका डिल्लीरामको स्थाई ठेगाना भने छातेढुङ्गा– ८, अर्चले,
तेह्रथुम हो ।
यिनी विगत लामो समय देखि गजललेखनका साथै शिक्षण तथा पत्रकारिता पेषामा समर्पित रहँदै आएका छन ।
यिनले पाँचथर फिदिमको ‘सुमालुंग एफ एम’वाट लामो समय सम्म ‘सिर्जना कोसेली’ नामक साहित्यिक कार्यक्र
संचालन गरे जस्ले तेह्रथुमे गजलकारितामा ठूलो योगदान दिएको छ ।

(५) मित्र संग्रौला
साहित्यकार गोपालप्रसाद संग्रौलाका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका मित्र संग्रौला (२०३३) रसिला गजल लेख्नेको कोटीमा
पर्छन । ‘एक धुन गजल गाएर जाऊ’ (२०५७) मार्फत गजल क्षेत्रमा उदाएका गजलकार संग्रौला पछिल्लो समयमा निकै
चर्चामा पनि आए ।
यिनका गजलमा मूलतः प्रेमभाव अनुभूत गर्न पाइन्छन । हुनत यिनले प्रेमका अलावा अन्य विषयवस्तुलाई कथ्य
वनाएर पनि धेरै गजल सिर्जना गरेका छन । यिनका अधिकांक्ष गजलमा ‘सानू’ नामको प्रिय पात्रले स्थान पाएको
देखिन्छ । यो ‘सानू’ नामका पात्रसंग यिनका सिर्जनाले धेरै सन्निकटता पाएको देख्न सकिन्छ । गजल पढ्दै जाँदा
यस्तो भान हुन्छ कि मानौ उनी यो पात्रसंग औधी नजिक छन । अथवा उनको यो पात्रसंग प्रेम छ ।
मित्र संग्रौलाको यो ‘एक धुन गजल गाएर जाऊ’ (२०५७) संग्रह प्रकाशनको दृष्टिले पूर्वाञ्चलको पाँचौ कृतिमा पर्छ ।
छातेढुङ्गा, तेह्रथुम ठेगाना भएका यिनी श्री प्रणामी मा.वी सिम्ले तेह्रथुममा लामो समय देखि अध्यापन पेषामा
संलग्न रहँदै आएका छन । साथै यिनको कलम गजलका साथसाथै कथा विधामा पनि चलेको पाइन्छ ।

(६) राजकुमार तेयूङ ‘तरेवा’
पचासको दशकको अन्त्य तिरबाट गजलकारितामा प्रवेश गरेका राजकुमार तेयूङ ‘तरेवा’ (२०४२) पछिल्ला पुस्ताका एक
आसलाग्दा गजलकार हुन ।
सोल्मा– ५, तेह्रथुम स्थाई ठेगाना भई केही साल देखि प्रवासमा रहेर साहित्य सिर्जनामा निपूर्ण रहेका यिनीले सानै
उमेरमा विभिन्न पत्र –पत्रिकाको सम्पादक तथा संवाददातको अनुभव संगालिसकेका छन ।
यिनी लिम्बू भाषाको गजल संग्रह प्रकाशन गर्ने पहिलो तेह्रथुमे गजलकार पनि हुन । यिनका ‘मेरिंग गेन मिक्वा’
(वेदनाका आँशु) (२०६८) लिम्बू भाषाको गजल सङ्ग्रह प्रकाशित भएको छ । साथै यिनका ‘समुन्द्र दन्के पछि’ (२०६९)
संयुक्त गजल सङ्ग्रह र ‘मामा’ (आमा) लिम्बू भाषाको कविता संङ्ग्रह, ‘निरन्तर वेदना’ (ताँङ्का संङ्ग्रह -२०६० जस्ता
अन्य कृतिहरु प्रकाशित देखिन्छन ।

(७) रविमान लम्जेल
कविता, कथा, समालोचना, खोज तथा अन्य विधामा अग्रणी देखिएका रविमान लम्जेल (२००८) गजलमा पनि त्यतिकै
तल्लिन तथा अग्रणी देखिन्छन ।
थोक्लुङ–६ केरेपे, तेह्रथुममा जन्मिएर ताप्लेजुङ्को लेलेपमा अध्यापनरत लम्जेल तत्कालीन नेपाल राजकीय प्रज्ञा
प्रतिष्ठान (हालको प्रज्ञा प्रतिष्ठान)का पूर्व सवासद (प्राज्ञ) पनि हुन ।
लम्जेलको वि.स.२०६१ मा ‘आँखाभरि सपना’ नामक गजल कृति प्रकाशनमा आएको छ भने यिनका ‘कोसी अंचलको
सेरोफेरो’ तथा ‘मेची दर्पण’, ‘उन्मुक्त आवेगहरु’ (कविता संग्रह -२०४८), ‘सिर्जनाका छालहरु’ (कविता संग्रह -२०६०)
‘मनभित्रका खुल्दुली’ (कविता संग्रह -२०६२), ‘आस्थाका पदचापहरु’ (कथासंग्रह -२०६९) लगायतका साहित्यिक कृतिहरु
प्रकाशित छन ।
यिनका गजलमा विषय वस्तुको विविधता पाइन्छ । यिनले गजलमा प्रेम, वियोगका साथसाथै देशप्रेमलाई पनि कथ्य
वनाएका छन । यिनका सिर्जनामा जतीय तथा वर्गीयचेतनाले वढि मात्रामा स्थान पाएको देखिन्छ । यिनी पात्र
चयनमा पनि त्यतिकै होसियार देखिन्छन । मूलत समाजमा कमजोर तथा उत्पिडनमा परेका पात्र तथा घटनाहरुले नै
यिनका सिर्जनामा महत्वपूर्ण स्थान पाएका हुन्छन । यिनी लेखन, खोज तथा संपादनमा उतिकै सकृय रहँदै आएका
छन ।

(८) एकादेशको गगनराज
एकादेशको गगनराज पारिवारिक नाम भने गणेशराज काफ्ले (२०४३) हो । गणेशराज काफ्लेबाट एकादेशको गगनराज
वनेका यिनले गजलकारिताको लामो यात्रा पार गरिसकेका छन । छातेढुङ्गा–४, तेह्रथुम स्थायी घर भएका गगनराज
पछिल्लो समयमा भक्तपुरमा वसेर आफ्नो साहितियक यात्रालाई अगाडि वढाउँदै आएका देखिन्छन । तेह्रथुम छाडेर
यिनी केही साल इटहरीमा वसोवास गरे । त्यहाँ रहँदा यिनले सप्तकोसी एफ.एममा ‘गजल सरोवर’ नामको गजल
संवन्धी कार्यक्रम पनि चलाउथे ।
उनको ‘सुनिती’ (२०६०) नामक गजल संग्रह आएको छ । यिनका गजलहरूले विविध विषयवस्तुको उठान गरेको
पाइन्छ । शास्त्रीय बहरमा पनि गजल लेखनमा सक्रिय रहदै आएका यिनी पछिल्लो समयमा नेपाली पठ्यक्रममा
आधारिता केही पाठ्पुस्तक लेखन तथा संपादनमा पनि सक्रिय देखिएका छन ।
(९) गनिन्द्र विवश
साठीको दशक पछि गजल लेख्न थालेका गनिन्द्र ‘विवश’ले पछिल्लो समयमा आफूलाई एक सक्रिय गजलकारका रुपमा
उभ्याउन सफल देखिन्छन । यिनी नयाँ पुस्ताका एक आसलाग्दा गजलकार हुन ।
फाक्चामारा, तेह्रथुम स्थाई ठेगाना भई विगत केही साल देखि प्रवासमा रहेर आफ्नो गजल कारितालाई अगाढि
वढाइरहेका यिनी गजल संग सवन्धित संस्था ‘अनाम मण्डली’ तथा ‘अन्तरराष्ट्रिय गजल मञ्च’ संग आवद्ध रहंदै आएका
छन ।
यीनका ‘सिर्जनाका स्वरहरु’ (२०६६) र ‘समुन्द्र दन्के पछि’ (२०६८) नामक दुई संयुक्त गजल संग्रहका अलावा यीनका थुप्रै
गजलहरु विभिन्न पत्र –पत्रिकामा प्रकाशित भएका देखिन्छन ।
(१०) एलिना सङ्ग्रौला
साठीको दशक पछि गजलकारितामा प्रवेश गरी छोटो समयमै आफूलाई गजलको दुनियामा चिनाउन सफल देखिएकी
एलिना सङ्ग्रौला एक आसलाग्दा गजलकारको कोटीमा पर्छिन ।
‘एलिना’को स्थाई ठेगाना भने आठराई छातेढुङ्गा, तेह्रथुम भए पनि उनी पछिल्लो समयमा प्रवासमा रहँदै आएकी
छिन । समसामयिक विषयवस्तुलाई टपक्क टिपेर आफ्ना सिर्जनामा उन्न सक्ने क्षमता राख्ने यिनका ‘दर्पण’ संयुक्त
गजलसङ्ग्रह तथा ‘एलिना’ नामक गीतिएल्बम नामका कृति प्रकाशित भैसकेका छन भने थुप्रै सिर्जनाहरु विभिन्न पत्र
–पत्रिकामा प्रकाशित भएका छन ।
पछिल्लो समयमा प्रकाशित यीनको ‘एलिना’ भित्रको ‘एलिना’ नामक टाइटल गजलले श्रोता तथा दर्शक मन जित्न
सफल देखिन्छ ।

(११) दिल पाक्सावा
साठीको दशक पछि गजलकारितामा पाइला चालेका दिल पाक्सावा (२०४२)को तेह्रथुमे गजलकारिताको विकाशमा ठूलो
योगदान रहेको छ ।
यिनकै अध्यक्षतामा वि.स.२०६४मा ‘नेपाल प्रतिष्ठान जिल्ला शाखा तेह्रथुम’को स्थापना भएको छ भने उक्त संस्थाले
जिल्लाका नयाँ तथा सिकारु गजलकारहरुलाई संगेलेर २०५९मा ‘तेह्रथुम गजल यात्रा’नामक सामूहिक कृति प्रकाशनमा
ल्याएको छ । उक्त सामूहिक संकलनका प्रधान संपादकको भूमिका पनि यिनले नै निभाएका छन ।
हमरजुङ, ६–तेह्रथुम स्थाई ठेगाना भएका पाकसावा विधिन्न साहित्यक संघ –संस्था तथा पत्र –पत्रिकामा आवद्ध रहँदै
आएका यिनी पछिल्लो समयमा सक्रिय रुपमा गजल लेख्नेमा पर्दछन ।
‘नेपाल गजल प्रतिष्ठान जिल्ला शाखा तेह्रथुम’का अध्यक्ष तथा ‘हाङ्मालुङ’ साहित्यिक पत्रिकाका प्रधान सम्पादकको
समेत भूमिका निभाई सकेका पाकसावाको वि.स.२०६५मा ‘कृतिसंगै विताएको रात’ नामक गजल संग्रह प्रकाशित भएको
छ ।

हुन त माथि उल्लेख भएका नाम वाहेक अन्य पनि आज थुप्रै गजकारहरू छन । तेह्रथुममा जन्म भै अन्य जिल्लालाई
कर्मथलो वनाएर गजल लेख्नेहरूको संख्या पनि उतिकै रहेको छ । त्यस्तै पछिल्लो समयमा प्रवाशमा रहेर
गजलकारीतालाई वढावा दिनेको संख्या पनि कम छैन । तर जानाकारीको अभावमा ती सवैलाई यो आलेखमा अटाउन
सकिएन । तर भविष्यमा हुने तेह्रथुमे गजलकारिता संवन्धी समिक्षा वा टिप्पणीमा भने छुटेका नामलाई समावेस गर्ने
जमर्को गरिने छ ।
।। इति ।।

सन्दर्भ सामग्रीहरूः
(१) सुब्बा, विजय ‘विजय सुब्बाका गीत र गजलहरू’ (गीत गजल संकलन),
(२) बिरही, केशु दन्किएको आगो’ (गजल सङ्ग्रह),
(३) बिरही, केशु ‘तेह्रथुम जिल्लाको गजलकारितालाई फर्किएर हेर्दा’ ।
(४) पाक्सावा, दिल, ‘तेह्रथुम गजल यात्रा (सामूहिक संकलन’) ।
(५) पन्थी, देवी ‘गजल सिद्धान्त र समालोचना’ (समालोचना) ।
(६) ‘निसाम’, प्रेम लिम्बू, ‘सिर्जना र साहित्य, रेडियो मेञ्छ्याम, तेह्रथुम’ ।
(७) क्षेत्री, वास्तोला, आठराई पत्रकार समूह. तेह्रथुम ।
(८) ‘पसदेसी’ डिल्लराम चापागाई, छातेढुंगा, तेह्रथुम ।

– केशु बिरही
सोमबार, १३ माघ, २०७०
http://www.samakalinsahitya.com/index.php?show=detail&art_id=4647 बाट सभार गरिएको ।

One thought on “तेह्रथुम जिल्लाको गजलकारिता – हिँजो र आज


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.