लाजिम्पाटकी उन्मत्त सुन्दरी

Suman, Ghimire, सुमन घिमिरे, pallawa, पल्लव

सुमन घिमिरे

म जन्मेदेखि कतिवटा नयाँ वर्ष आयो गयो भनेर हिसाब गर्ने हो भने तीसवटाचाहिँ कटाइएछ । तर, नयाँ वर्ष के हो भनेर बुझ्न थालेको भने दुई दशक पूरा भयो । नयाँ वर्ष बुझ्न थाल्दा हामी नयाँ वर्षको शुभकामना पोस्ट कार्डमा लेखेर पठाउँथ्यौँ । बलिउडका नायकनायिका विशेषगरी नायिकाका पोस्ट कार्डहरु साथीहरुलाई दिने गर्दथ्यौँ, रमाइलो हुन्थ्यो । घरमा पोस्ट कार्ड नै किन्न भनेर पैसा माग्न डर लाग्थ्यो, अनि खाजाखर्च जोगाएर भए पनि मैले पोस्ट कार्ड किन्थेँ, किन्थेँ । अहिले मलाई ती क्षणहरुको सम्झना आइरहेको छ । अझ त्यो बेला प्राप्त गर्ने पोस्ट कार्डभन्दा पनि त्यसमा लेखिने साहित्य, शुभकामना चाखलाग्दा हुन्थे । अझ भन्नपर्दा त्यो साहित्य नै आकर्षण बन्थ्यो ।

 

कसले कसरी लेखेछ भनेर हेर्न उत्सुकता जाग्थ्यो । म एक–एकको पोस्ट कार्डमा शायरीहरु पढ्दै रमाउँथेँ । केटीसाथीहरुले पोस्ट कार्ड दिनुपर्दा सोझै हातमा दिँदैनथे । नोटकपी वा किताब मागेको बहानामा त्यसैभित्र राखेर दिन्थे । नयाँ वर्षको सेरोफेरोमा केटीसाथीहरुले कपी वा किताब मागे भने पोस्ट कार्ड आयो भनेर जाने हुन्थ्यो । वैशाख १ को बिदा घरमा बस्यो, त्यही पोस्ट कार्ड हेर्‍यो, स्कुल जीवनमा नयाँ वर्ष मनाउने भनेको यसरी नै हुन्थ्यो । पार्टीको त के कुरा, घुमघामहरुको पनि नामनिसाना हुन्थेन ।
सन् २००२ मा अध्ययनका लागि म युरोपको आयरल्यान्ड पुगेँ । आयरल्यान्डको बसाइँ विशेषतः अध्ययनका लागि थियो, तर अध्ययनका साथसाथै मैले त्यहाँको संस्कृति र त्यहाँको जनजीवन पनि चिन्ने मौका पाएँ । मेरो लागि पाश्चात्य संस्कृति र सभ्यतासँगको सामीप्यता पनि रोचक थियो । अनि पाश्चात्य संगीतसँग पनि नजिक हुने मौका मिल्यो । यो एउटा सुखद पक्ष थियो । जीवनको अमूल्य समय त्यतै खर्चिइयो । यहाँको बसाइँमा थुप्रै नेपाली नयाँ वर्ष मनाइयो । सुरूसुरूमा हाम्रो कार्यक्रम सामान्य भेटघाटमा मात्र सीमित हुन्थ्यो । तर, बिस्तारै नयाँ वर्षको कार्यक्रममा नेपाली गीत, संगीत र नृत्यले पनि आगमन पाए । स्थानीय र नेपालका चर्चित कलाकारहरुले प्रस्तुत गर्ने कार्यक्रम नै हाम्रो लागि पुरानो नयाँ वर्षलाई बिदाइ र नयाँलाई स्वागत गर्ने अवसर हुन्थ्यो । नेपालबाहिर रहँदा यसरी भए पनि नयाँ वर्ष मनाउन पाउनु मेरो लागि गर्वको विषय थियो ।
नेपाल फर्केको तेस्रो वर्षको अन्त्यतिर मात्रै नेपाली नयाँ वर्ष मनाउने क्रममा नेपाली विकसित संस्कृतिसँग नजिक हुन पाएँ । मेरो लागि यसरी नेपालमा ‘नाइट आउट’ बिल्कुलै नौलो अनुभूति थियो । मैले काठमाडौँमै बस्दा पनि कहिले पनि रात्रिजीवनको अनुभव लिन पाएको थिइनँ । त्यसैले, पूरै रात निकै उत्सुक थिएँ । रातमा काठमाडौँ सहर नै जागा थियो भन्ने भान मलाई भएको थियो । पानीपोखरी, दरबारमार्ग र थापाथलीसम्मका सडक रातभर नै व्यस्त थिए । सुरक्षा पनि निकै कडा बनाइएको थियो । मापसे चेक पनि बाक्लै गरिएको थियो । मापसे चेक गर्ने महिला प्रहरीले मेरो चालक साथीलाई निकै शिष्टताका साथ सोधिन् । सुरूमा उनले ‘नमस्ते म्याम, ह्याप्पी न्यू एयर’ भन्दा मनै कस्तो भयो ! सधैँ ठूलो र अभद्र रुपमा प्रस्तुत हुने नेपाली ट्राफिक यस्तो रुपमा देख्दा राम्रै टे«निङ दिएछन् जस्तो लाग्यो । मैले विदेशी प्रहरीमा देखेको शिष्टता आज यतै भेट्दा निकै खुशी भएँ ।
‘ओ माइ गुडनेस’, म एउटा लाजिम्पाटको पार्टीमा पस्नेबित्तिकै मनमनै भनेँ । मान्छेहरुको भीडले खुट्टा टेक्ने ठाउँ थिएन । डिजे हिन्दी र अंग्रेजी गीतलाई समिश्रण गर्दै दर्शक तताउँदै थिए । युवाभन्दा युवतीको जमात धेरै थियो । कोही कोहीभन्दा कम थिएनन् । छोटा–छोटा ड्रेस, क्लर म्याचिङ, सबै उत्तिकै कामुक र बैँसले उन्मत्त । हातमा वाइन वा बियरको ग्लास, साथमा सिग्रेट च्याप्दै धूवाँ उडाउनमा मस्त देखिन्थे । थाहा छैन, सिगरेट पिउनु उनीहरुका लागि आदत
हो कि, उनीहरुको शान ! जे होस्, नेपाली युवतीहरु यस्तो विकसित रुपमा देख्न पाउँदा म आश्चर्यमा परेँ । म यही सहरमा बस्ने मान्छेले पनि यस्तो परिर्वतनबारे प्रत्यक्ष रुपमा साक्षात्कार पाएको थिइनँ । अधिकांश युवायुवतीहरु २०÷२२ वर्षका देखिन्थे । मलाई लाग्छ, प्रायः सबै सभ्रान्त परिवारका, खर्च जति पनि गर्न सक्ने । राति घर ढिलो पुगे पनि कसैले केही नभन्ने वा जाँदै नगए पनि बाल नदिने । मसँगै गएको एक जना साथीले ‘नेपाल त परिवर्तित भएछ है’ भन्दा म पनि झसङ्ग भएँ । युरोप, अमेरिका र अस्ट्रलियालगायतका देशहरुमा सप्ताहान्त विकेन्डमा डिस्को पव जाने अनि पिउने, नाच्ने र साथीभाइहरुसँग रमाइलो गर्ने भनेको एउटा रमाइलो पक्ष हो । अझ उनीहरुको नयाँ वर्षमा त धुमधामै हुन्छ ।
आयरल्यान्डमा १८ वर्ष पुग्नु भनेको स्वतन्त्र हुनुजत्तिकै हो । जब केटा वा केटी १८ वर्ष पुग्छन्, ठूलो समारोह नै हुन्छ । १८औँ जन्मोत्सव मनाउन निकै उत्साहित हुन्छन्, जोकोही । किनकि, यसपछि ऊ उन्मुक्त हुन्छ, परिबन्धबाट । जे पनि आफूखुशी गर्न पाउँछ । गाडीको लाइसेन्स लिन, रक्सी पिउन, क्लब र डिस्को जान । आयरल्यान्डमा रहँदा म पनि धेरै पटक डिस्को गएँ । जानी–नजानी खुट्टा चाल्दै नाच्ने चेष्टा गरेँ । डिजेले प्रस्तुत गर्ने संगीतमा लठ्ठ भएँ । नेपाल रहँदा यी मेरा लागि टाढाको कुरा थियो । प्रत्येक डिस्कोहरु भरिभराउ हुन्थे । १८ वर्षदेखि ६० वर्षसम्मका केटाकेटी, पाका मान्छे र आइमाईहरु आउँथे । हामीकहाँ जस्तो मागी विवाह ‘अरेन्ज म्यारिज’ त्यता नहुने हुँदा कतिलाई त आफ्नो जीवनसाथी भेट्टाउने थलो पनि बन्छ, डिस्को र पव । कामुक पहिरनमा सजिएका केटीहरु डिस्को लाइटमा आफ्नो अनुहार पर्दा धपक्कै बल्थे । तर, यस पटकको नयाँ वर्ष मनाउने क्रममा मलाई टेम्पल बारमै छु कि भन्ने भान भएको थियो ।
मैले धेरै पटक देखेको छु, सप्ताहान्तमा डिस्को संस्कृतिमा भुल्ने अनि सप्ताहको सुरूमा काममा नजाने वा कलेज नजाने । ‘सरी, आई एम सिक’, भनेपछि कामबाट पनि बच्न पाउने । कलेज त गए पनि नगए पनि मतलबै भएन । अनि एक हप्ताभरि कमाएको पैसा, एकैदिनमा पनि सिध्यायो अनि फेरि कामतिर लाग्यो । उनीहरुका लागि यसरी डिस्कोमा झुम्मिन कुनै पर्व आइरहन पर्दैन । बाहना त चाहिँदै चाहिँदैन, केवल पैसा हुनुपर्‍यो र समय अनि मुड । यी तीन चीज
हुनेबित्तिकै कुदिहाल्छन् डिस्कोतिर । नयाँ वर्ष मनाउनु राम्रो कुरा हो । नयाँ वर्षसँगै नयाँ विचार, नयाँ काम र नयाँ आयाम ल्याउने काम गर्नु पनि पर्दछ ।

हाम्रो देश गरिब छ । गगनचुम्बी घरहरुको निर्माण र गाडीहरुले मात्र देशलाई विकसित गराउँदैन । यिनीहरु त संकेतमात्र हुन् विकासका । विकास भनेको परिवर्तन पनि हो र परिवर्तनलाई धेरै कुराले सहयोग पुर्‍याउन सक्दछ । पाश्चात्य संस्कृतिको आगमनलाई पनि सहर्ष स्वीकार्न पर्दछ । तर, एउटै कुरा रमाइलोको नाममा समाजलाई बिर्सन हुँदैन । आफ्नो सुरक्षाको पनि ख्याल गर्नुपर्दछ, विशेषगरी महिलाहरुले । अहिले ‘ई’ जमाना छ । एसएमएस, इमेल र विभिन्न सोसियल नेटवर्किंङ साइटहरु छन् । नयाँ वर्षका सन्देशहरु तुरून्तै एकअर्कालाई पठाउन सकिन्छ । नेपालको मान्छेले केन्याको नैरोवीमा बस्ने फेसबुक साथीलाई समेत विनाकष्ट सन्देश प्रवाह गर्न सक्छ । विज्ञान जादुमय छ । हामी अहिले बिस्तारै पेपर लेस हुँदैछौँ । नयाँ वर्षका कार्डहरु फोटोसपमा
बनाएर, बल्कमा सम्प्रेषण गर्दछौँ । स्क्रिनमा मात्र हेर्छौं र डिलिट गर्छौं वा सेभ गर्छौं । ई जमानासँगै हाम्रो संस्कृतिमा पनि परिवर्तन भएको छ । परम्परागत नयाँ वर्ष मनाउने क्रम तोड्डै, पाश्चात्यसम्म आइपुगेका छौँ, त्यही पनि निकै छोटो समयक्रममा । सोहीअनुसार विकास निर्माणमा हामी नेपाली अघि बढेको भए विदेशिने क्रममा पक्कै कमी आउँथ्यो ।
हामी यस्ता कुरामात्र चाँडै सिक्छौँ, जसले व्यक्तिगत फाइदा मात्र हुन्छ । हामीले फोहोर फाल्नसमेत सिकेका छैनौँ, हामीले रातो बत्ती बल्दा रोकिनै पर्दछ भन्ने सिकेका छैनौँ, तर फेसन र रहनसहनको कुरा गर्ने हो भने हामी निकै अघि छौँ । बास्किन रबिनको आइसक्रिम, लाभाजाको कफी र पिजा हटको पिजा हामी चाँडै खान सिक्छौँ, अनि मौलिक तालमा नयाँ वर्ष मनाउनेलाई हामी अपडेट गर्दै डिजेविना कुनै कार्यक्रम मनाउनै सक्दैनौँ । अहिले पनि लाजिम्पाटकी उन्मत्त सुन्दरीहरुको सम्झनाले मलाई कताकता युरोपको ‘ब्लन्ड’ हरुको याद आइरहेको छ ।

सुमन घिमिरे, २०७० जेठ २४
साभारः http://echitwanpost.com/ बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.