मन्दिरमा नि ढोका किन लाउनुपर्ने ! जस्तो लाग्छ
द्यौताले त सबै थाहा पाउनुपर्ने ! जस्तो लाग्छ
कर्मचारी घुस्याहा छन् भन्ने मैले सुनेको’थेँ
द्यौतालाई चैँ किन लड्डु ख्वाउनुपर्ने ! जस्तो लाग्छ
पैल्यैदेखि चाकडी र चाप्लुसीको प्रथा रै’छ
भगवानको नि किन गुनगान गाउनुपर्न ! जस्तो लाग्छ
मान्छे आफै सेवा गर्न ढोका-ढोका चाहार्दैछन्
द्यौता भए दु:खीको घर धाउनुपर्ने जस्तो लाग्छ
सयौँ पटक मन्दिर गएँ मूर्ती ढोगी पुजा गरेँ
द्यौता पनि कै’ले काहीँ आउनुपर्ने जस्तो लाग्छ ।
